
म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन ‘माथिल्लो म्याग्दी’ जलविद्युत आयोजना निर्माण शुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
हाइड्रो इम्पायर लिमिटेड प्रर्वद्धक रहेको ४६ दशमलब २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य सहित बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माण कार्यलाई समानान्तरण रुपमा तिब्रता दिएको हो । २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिनुभयो ।
“सुरुङ सहितका भूमिगत संरचनाहरुलाई अबको ८ महिनाभित्र सकेर फिनिसिङमा लैजाने कार्ययोजना अनुसार काम अघि बढाएका छौ,” उहाँले भन्नुभयो “सिभिल ठेकेदारले सुरुङ, बाँध र विद्युतगृहको काम तिब्रताका लागि गरिरहेको छ भने प्रशारण लाइन र पेनस्टेक पाइपलाइनको काम पनि छिट्टै सुरु हुदैछ् ।”
छ हजार चार सय २५ मिटर मुख्य सुरुङ सहित सम्पूर्ण भूमिगत संरचना मध्य मंगलबारसम्म चार हजार दुई सय २० मिटर सम्पन्न भएको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । धवलागिरी गाउँपालिका –४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युतगृह निर्माणाधिन छ ।

बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट सुरुङ निर्माण भइरहेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युतगृहसम्म आठ सय ४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ् । यो आयोजना रन अफ द रिभर (नदी प्रभाहमा आधारित) हो ।

बाँध, ‘इन्टेक’ र विद्युतगृह बाहेकका ‘ग्रोवल ट्रयाप’, डिसेण्डर (बालुवा थिग्राउने पोखरी), मुख्य सुरुङ र सर्ज टनेल लगायत सबै संरचना भूमिगत रहने भएका छन् । आयोजनाको सिभिल ठेकेदार आर.एस.सी. आर.जे. जेभी र माछापुच्छ्रे इन्जिनियरीङ प्रा.ली. रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यको लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यको लागि माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रा.ली. परिचालित भएको छ ।
यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलब २५ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रो इम्पाएरका अध्यक्ष काजी लामाले बताउनुभयो । थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले तीन सय १४ मिटर अग्लो रहेको हेडलाई बढाएर तीन सय १७ मिटर र खोलाबाट सुरुङमा हालीने पानीको मात्रा १४ दशमलब ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलब २४ घनमिटर प्रतिसेकेण्ड बनाई क्षमता बढाइएको हो ।
सुख्खा याममा पनि म्याग्दी नदीमा पानीको मात्रा पर्याप्त हुने भएकाले यस आयोजनाले लगानीकर्तालाई छिटो प्रतिफल दिने अध्यक्ष लामाले बताउनुभयो । रु. आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार अनुमानित लागत रहेको आयोजनामा सिद्धार्थ बैङ्कको अगुवाइमा नेपाल एस.बि.आई. बैंक, सिटिजन्स बैङ्क इन्टरनेशनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताउनुभयो । ७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपँुजीको अनुपात रहेको छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि कुल लागतको १० प्रतिशत सेयरको ब्यवस्था गरिएको घर्तीले बताउनुभयो । यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको डाडाखेत सवबस्टेशन मार्फत केन्द्रिय ग्रिडमा जोडिनेछ् । १० किलोमिटर लामो एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन निर्माणको तयारीमा छ ।
शिवरात्रीखोला देखि बाँध निर्माण स्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले घवलागिरी गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पु¥याउन सहयोग गरेको छ ।

