
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार अपराहन्न भएको भिषण बर्षाका कारण भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।
अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ्ग–तातोपानी, दाना, नारच्याङ्ग, शिख, घार र हिस्तानमा असिना सहितको बर्षा भएको थियो । बर्षासँगै स्थानीय खोल्साहरुमा आएको बाढी बस्तिमा पस्ने, कटान गरेर सडक लगायतका भौतिक संरचनाहरु भत्काएर क्षति पु¥याएको हो ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको खहरेखोलाले एक वटा कल्भर्ट बगाएको, बेनी–जोमसोम र तातोपानी–मान्द्रेढुङ्गा सडक अवरुद्ध बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । तातोपानी बजारका केही घरहरु भित्र पनि बाढी पसेर हिलाम्मे भएको छ ।


पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी बजारमा ल्याइएको खानेपानीको पाइपलाइन लगायतका भौतिक संरचनामा बाढीले क्षति पु¥याएको छ । मुख्य सिजनमा पर्यटकहरुले भरिभराउ भएको तातोपानीमा खानेपानी अवरुद्ध हुँदा समस्या भएको स्थानीय ब्यवसायी अमृतमान शेरचनले बताउनुभयो ।
बेनी जोमसोम कोरला सडक योजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार महभिर, तातोपानी, गुइठेभिर, खामभित्ता र लाटोखोलामा बाढी र पहिरोले सडक अवरुद्ध भएको छ । बुधबार बिहानै देखि सडक विभागका उपकरणहरु परिचालन गरेर सडक खुलाउने तयारी गरेको शेरचनले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटक र सर्वसाधारणहरु बिच बाटोमै रोकिएका छन् । असिनाले खेतीबालीमा पनि क्षति पुगेको किसानहरुले बताएका छन् । बटिला लाग्दै गरेको सुन्तलाका दाना असिनाले झारिदिएको छ ।

