
म्याग्दी ः सिमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ पर्वत बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख नाकामा पर्ने पर्वत बेनीमा सडक विस्तार, स्तरोन्नति र कालोपत्र नहुँदा स्थानीयबासी, यातायात ब्यवसायी र पर्यटकहरु समस्यामा परेका छन् ।
राष्ट्रिय राजमार्गमा समेटिएको पर्वत बेनीको साँघुरो र जिर्ण सडकमा सवारी साधनको चाप बढेर जाम हुने, हिलो र धुलोको समस्या भएको स्थानीयबासी कृष्ण केसीले बताउनुभयो । “सात सय ६० मिटर दुरीको सडक पार गर्न जाम हुँदा १० देखि १५ मिनेट लाग्ने गरेको छ,” उहाँले भन्नुभयो “हिलो र धुलोको समस्या उत्तिकै छ ।”

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले मालढुङ्गा–बेनी सडक कालोपत्रका लागि गरेको ठेक्काबाट वारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक÷एक सय मिटर सडकलाई हटाएको थियो ।
वारीबेनीमा बस्तिको बीचमा सडक विस्तार गर्न घरधनीहरुको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख तेजस्वि शर्माले बताउनुभयो ।
“कालीगण्डकी कोरिडोर लगायत ८० वटा राष्ट्रिय राजमार्गको सडक सिमा निर्धारण नहुँदा बस्ति क्षेत्रमा योजना कार्यान्वयनमा अत्यन्त कठिनाई भएको छ,” उहाँले भन्नुभयो “सडक ऐनले राष्ट्रिय राजमार्गमा नसमेटिएका सडकमा लागु गरेको छ मिटरको मापदण्डमा पनि स्थानीयसँग सहमति नजुट्दा पर्वत बेनीमा कालोपत्र छुटेको हो ।”

पर्वत बेनीका बासिन्दा इन्द्र मगरले सडक मापदण्ड र सिमा निर्धारणमा भएको ढिलाइका कारण घरजग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो । “धुलो, हिलो र जामको समस्या त छदैछ, बैंकहरुले सडकको सिमा स्पष्ट नभएको कारण देखाएर लगानी गर्न डराउँदा विशेष गरेर ब्यवसायीहरु मर्कामा परेका छन्,” उहाँले भन्नुभयो “नक्सा पास गरेर घर बनाउन पनि समस्या छ ।”
सरकारले जति सक्दो छिटो सिमा निर्धारण गर्नुपर्ने र सिमा तोक्नुअघि बनेका भौतिक संरचनाको क्षतिपुर्ति तथा मुआब्जाको ब्यवस्था गरेर मात्र सडक विस्तारको काम गर्नुपर्ने पर्वतबेनीबासीहरुले माग राख्दै आएका छन् । पर्वत बेनी हुदै म्याग्दी प्रवेश गर्ने कालीपुलमा अर्को मोटरेबल पुल निर्माणका लागि पनि सार्वजनिक जग्गामा रहेका घरटहराहरुको चुनौति रहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।
कालीपुलमा वि.स. २०६४ मा निर्माण भएको मोटरेबल पुल साघुरो भएकाले आयोजनाले अर्को पुल बनाउन प्रस्तावित ठाउँमा रहेका घरटहराका कारण योजना अघि बढाउन समस्या भएको हो । बेनी–जोमसोम–कोरला¬ सडक योजना मार्फत १३ किलोमिटर दुरीको मालढुङ्गा–बेनी सडकलाई हालै दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रबिधीको कालोपत्र गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक दुई लेनको बनाएर कालापत्र गर्न वि.स. २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक वि.स. २०६८ मा एक तर्फी कालोपत्र भएको थियो । मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधी स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको छ ।

