
बेनी ः म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना– ढोरपाटन सडक योजना निर्माण कार्य सुस्ताएको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरीको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सञ्चालित योजना निर्माण कार्य सुस्ताएपछि स्थानीयबासी निराश भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको बैकल्पिक मानिएको म्याग्दी देखि ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडक निर्माण कार्य पछिल्लो एक महिनायता सुस्त बनेको धवलागिरी गाउँपालिका–३ मुनाका अगुवा बुद्धीमान शेरपुञ्जाले बताउनुभयो ।

“यस वर्ष रु. २३ करोड बजेट भएको यस योजनाको हालसम्म जम्मा रु. पाँच÷छ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको संख्या घटाएर न्युन बनाएका छन्,” उहाँले भन्नुभयो “दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजना निर्माण सुस्ताउँदा अलपत्र पर्ने जोखिम बढेको छ ।”
गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजना मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ् ।
प्रशासनीक खर्च बाहेक रु. ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागिरु. ५२ करोड ८० लाख ५३ हजार कबोलेको सिम्रन÷सक्षम जेभीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । वि.स. २०८२ कात्तिक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले निर्माण कार्यको गति घटाएका हुन् । “सबैभन्दा धेरै बजेट भएको दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुबर्षीय आयोजनामा काम गरेका ब्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ,” उहाँले भन्नुभयो “इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेकेदारलाई काम लगाउन समस्या भएको हो ।”
संघीय र प्रदेश सरकारको (समपुुरक) ५०÷५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको हो । संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा रु. २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२÷०८३ मा रु. २३ करोड २२ लाख बिनियोजन भएको छ ।
आगामी आर्थिक वर्षसम्म योजना निर्माण पुरा नभएमा संघीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई ब्यभार थपिनेछ् । वि.स. २०७१ मा मुनामा सडक पुगेको थियो । कच्चि अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो ।
म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्छ । म्याग्दी १(ख) बाट निर्वाचित प्रदेश सांसद रेशम बहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणमा देखिएको ढिलाईप्रति चिन्ता ब्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण र स्थानीय स्तरमा कामको गति बढाउन सहजिकरण गरिएको बताउनुभयो ।
उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीका सञ्चालक भिम सापकोटाले इन्धन र निर्माण सामग्रीको मुल्यवृद्धिका बावजुद योजना सम्पन्न गराउन लागिएको बताउनुभयो । मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलीसकेको छ । बेनी देखि तालावाङ सम्म १८ किलोमिटर कालोपत्र भएको छ ।
इन्धनमा भएको मूल्य वृद्धीको असर म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना– ढोरपाटन सडक लगायतका योजनाहरुमा देखिन थालेको छ ।

