
ताकम, ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ ताकममा कालोपत्र थालिएको छ ।
धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजना मार्फत धवलागिरी गाउँपालिकामै पहिलो पटक ताकममा कालोपत्र गर्न थालिएको हो । प्रिमिक्स प्रबिधीको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाले बताउनुभयो ।
“ग्राभेलमाथी राखेको प्राइमकोड सुुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएपछि तेस्रो चरणमा बिटुनीमसँग चिप्स भुटेर सडकमा बिछ्याउछौ,” उहाँले भन्नुभयो “छ किलोमिटर दुरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुुने चरणमा छ ।” यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । यस योजना मार्फत दुई लेनमा नौ सय मिटर दुरीमा कालोपत्र गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडक अन्तर्गत धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाले बताउनुभयो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु. १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदारले संरचना निर्माण, बेस र सबबेस बिछ्याएको छ । गौथली भिर लगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । धारापानीमा वि.स. २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।
कालोपत्र हुुन थालेपछि ताकमबासी उत्साहित भएका धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चार देखि पाँच मिटर फराकिलो थियो ।
यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न रु. ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण शुरु भएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।
गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधी २७ महिनाको रहेको छ । म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताउनुभयो ।
धवलागिरीको केन्द्र मुना देखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुदै पुर्वी रुकुमको तकसेरा गत फागुन महिनामा सडकले जोडिएको थियो । ढोरपाटन देखि जलजला सम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

