
बेनी ः म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिका धुरी तीन तर्फबाट सडक सञ्जालमा जोडिएको छ ।
समुन्द्रि सतहदेखि तीन हजार चार सय मिटर उचाईमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ । मङ्गला गाउँपालिका–२ हिदी देखि मालिकाको फेदीमा रहेको जुगेदेउराली जोड्ने सडकको मार्ग खुलेपछि यातायातको साधन प्रयोग गरेर मालिका जाने भक्तजन र पर्यटकका लागि तेस्रो विकल्प बनेको हो ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट हुदै मालिका जोड्ने सडक वि.स. २०८० र रघुगंगा गाउँपालिकाको ठाडाखानी हुदै मालिकाको फेदीसम्म वि.स. २०८१ मा सडक पुगेको थियो ।

मंगला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदी देखि सुर्ती चढाउने डाडाँ, गिद्रे देउराली, धौलेखर्क हुदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने चार किलोमिटर पाँच सय मिटर दुरीको सडकको मार्ग खुलेको निर्माण समितिका अध्यक्ष थमप्रसाद पुनले बताउनुभयो ।

“गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ३० लाख बजेटबाट ठेक्का मार्फत हिदी देखि सुर्ती चढाउने डाडाँसम्म दुई किलोमिटर पाँच सय मिटर सडकको मार्ग खुलेको थियो,” उहाँले भन्नुभयो “हिदीका बासिन्दा र स्वदेश तथा विदेशमा रहेकाहरुबाट चन्दा सहयोग जुटाएर सुर्ती चढाउने डाडाँदेखि गिद्रे हुदै जुगेदेउराली जोडिएको सडकको ग्रेड र घुम्ती मिलाउने काम भैरहेको छ ।”
सडक सुधारको सबै काम सकिएपछि चन्दा संकलन अभियान, आम्दानी र खर्च विवरण सार्वजनिक गरिने पुनले बताउनुभयो । हिदिबाट एक घण्टामै मालिका पुग्न सकिने उहाँले बताउनुभयो । जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनी देखि हिदी हुदै चार घण्टामा मालिका पुग्न सकिने भएको हो ।
पैदलयात्रा गरेर हिदी देखि मालिका पुग्न चार देखि पाँच घण्टा लाग्ने गरेको थियो । यातायातको सुविधा भएमा यात्राअवधी दुई घण्टामा छोटिने र यो सडक बेनी देखि मालिका जोड्ने सबैभन्दा छोटो दुरीको हुने हिदीबासीको दावी छ ।
मालिकाबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमालहरुका साथै सुर्योदय, सुर्यास्त, पहाडी भुगोल र वनजङगलको अवलोकन गन सकिन्छ । चण्डी, जेष्ठी र कार्तिक पुर्णिमामा बिशेष दर्शन र पुजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । वि.स १९१० देखि पुजाआजा हुन थालेको ईतीहाँस रहेको मालीकामा कालिका, मालिका र जालपादेवीको मुर्ति रहेका छन् ।

