
बेनी, २३ चैत । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सार्वजनिक निकायमा शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हकको ब्यवहारिक कार्यान्वयनमा जोड दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगले सोमबार बेनीमा आयोजना गरेको पालिका स्तरीय सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयुक्त आचार्यले सूचनाको हकको प्रर्वद्धनसँगै सदुपयोगमा पनि जोड दिनुभयो ।
“राज्यका निकायले गरेका र गर्न लागेका गतिबिधीहरुको नागरिकलाई स्पष्ट जानकारी भयो भने शुसासन कायममा सहयोग पुग्छ,” उहाँले भन्नुभयो “सूचनाको हकले सबै किसिमका सार्वजनिक निकायलाई जवाफदेही र पारदर्शी पनि बनाउँछ ।”

आचार्यले जेनजी आन्दोलनको घटनाको जाँचबुझका लागि पुर्व न्यायाधिश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगको सिफारिस अनुसार सरकारले कारबाही थालेपनि सञ्चार माध्यमबाट सार्वजनिक भएको तर सरकारले आधिकारिक रुपमा सार्वजनिक नगरेको विषयमा चासो व्यक्त गर्नुभयो । आयुक्त आचार्यले सूचनाको दुरुपयोग र बार्गेनीङ गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । नागरिक तहमा सूचनाको हकको प्रर्वद्धन गर्नुपर्ने आचार्यको भनाई थियो ।

अर्का सूचना आयुक्त गगन बिष्टले राज्यका निकाय र जनप्रतिनिधीहरुले गरेका राम्रा कामको बजारीकरण नगर्दा समाजमा नकारात्मकताले प्रशय पाएको बताउनुभयो । “सूचनाको हक सम्बन्धी ऐनमा भएको ब्यवस्थालेनै गरेका र भएका गतिबिधीलाई राज्यका निकायले नियमित सार्वजनिक गर्नुपर्ने भनेपनि यहाँ जनप्रतिनिधी र कर्मचारीले बजारीकरण नगर्दा भए, गरेका कामको बजारीकरण गर्न नसक्दा नकारात्मकता मात्रै फैलिएको छ,” उहाँले भन्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरपालिकाले सूचनाको हकको कार्यान्वयनका लागि सूचना अधिकारीको ब्यवस्थाका साथै प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाई गरिदै आएपनि केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि सूचना माग्ने र गलत बिषयलाई मात्र सामाजिक सञ्जालमा राखेर नकारात्मकता फैलाउने काम गरेका गुनासो गर्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले आम नागरिकहरुमा सूचनाको हकका विषयमा चासो नभएको तर यस विषयमा जाने, बुझेकाहरुले पुर्वाग्रह साध्न र दुःख दिने नियतले सूचना माग्ने र त्यसलाई असान्दर्भिक हिसाबले प्रस्तुत गरेर दुरुपयोगको अभ्यास हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
बेनी नगरपालिकाका सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत युवराज थापाले सूचना अधिकारी र कर्मचारीहरुलाई अभिमुखीकरणको आवश्यकता रहेको बताउनुभयो । नगरपालिकाको सहकारी शाखा प्रमुख प्रभा शर्मा, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष घनश्याम खड्का लगायतले सूचनाको हकको प्रयोगका विषयमा देखिएको चुनौति र सूधार गर्नुपर्ने विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

