
बेनी, ः चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०÷२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताउनुभयो ।

वि.स. २०८१ बैशाख ११ मा लार्जुङखोलाको पुल बनाउन एस.के. धौलागिरीसँग रु. एक करोड ९७ लाख ६३ हजार एक सय ३५ र कैह्कुखोलाको पुल बनाउन बि.के.–के.सी.–जि.सी. जेभीसँग रु. पाँच करोड ३४ लाख ६३ हजार छ सय २४ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि दुई वटै पुल बनाउन वि.स. २०७५ मा रु. छ करोड ५४ लाखमा ठेक्का सम्झौता गरेको गणपति निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता वि.स. २०८० चैतमा तोडेर अधुरो काम सम्पन्न गराउन नयाँ ठेक्का लगाइएको थियो । ५०÷५० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुलको ठेक्का तोडिएको थियो ।
पर्वतको लामढुङ्गा देखि चिनको सिमानामा रहेको कोरला नाका सम्म दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत हालसम्म १५ वटा मोटरेबल पुल निर्माण सकिएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । छ वटा बेलिब्रिज निर्माण भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका–४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले तोडिएको छ ।
राहुघाट, घट्टेखोला, लेतेखोला, सेतोखोला पुल, छाक्ताङ खोला, मार्फाखोला पुल,स्याङखोला पुल, पान्डाखोला पुल, छुसाङ नरसिंह खोला, चराङखोला, लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भएको छ ।
बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला, घट्टेखोला र थापाखोलामा बेलिब्रिज जडान गरेको छ । पुल सेक्टर कार्यालयबाट बेगखोला, तिप्ल्याङ कालीगण्डकी, र पोखरे बगर कालीगण्डकीमा मोटरेबल पुल निर्माण भएको छ ।

