
बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा रहेको ‘दर्मिजा भ्यु प्वाइन्ट’ पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ ।
‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा चिनिने यस क्षेत्रलाई दर्मिजा दृष्य अवलोकन स्थलको रुपमा विकास गर्न दर्मीजाबासीले अग्रसरता देखाएका छन् । पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका दर्मीजाको तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाडा र नांगेदेवी थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा बिप्रसाद पुनले जानकारी दिनुभयो ।
“हिमशृङखला, सुर्योदय, पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिने दर्मिजा भ्युर पोइन्ट पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेलमा परेको छ,” उहँले भन्नुभयो “समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रर्वद्धनको काम थालिएको दर्मिजा भ्यु पोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ ।”


दर्मीजा गाउँदेखि दुई घण्टाको उकालो बाटोको पैदलयात्रा गरेपछि पुगिने दर्मिजा भ्यु पोइन्टबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृङखलाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।
समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा पहाडको टाकुरामा अवस्थित दर्मीजा भ्यु पोइन्ट वरपर घना जंगल छ । बसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमंग र रमणीय हुने स्थानीयबासी शिव पाइजाले अनुभव सुनाउनुभयो । म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामिण वस्तिहरु अवलोकन गर्न पाइने यो ठाउँ बस्ति देखि टाढा र एकान्तमा अवस्थित छ ।
सहरबजारको कोलाहल, व्यस्त दैनिकी र प्रदुषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरुका लागि दर्मीजा भ्यु पोइन्ट उपयुक्त गन्तब्य बन्न सक्छ । यहाँ स्थानीयबासीहरुले बैशाख महिनामा नांगेदेवीको पुजा गर्दछन् । नांगेदेवीको पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ ।
नांगेथान नजिकै दगनामका नक्कल बहादुर गर्बुजा र दर्मीजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गर्नुभएको छ । दर्मीजाका हिराबहादुर पुनको सहयोगमा खानेपानी ब्यवस्था गरिएको छ । हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ ।
रघुगङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दर्मीजा देखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ । जागा झरना हुदै दर्मीजा भ्यु पोइन्ट जान सकिन्छ । पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२÷०८३ मा रु. तीन लाख बजेट बिनियोजन गरेको थियो । दर्मीजा गाउँमा घरबासको सुविधा छ । दर्मीजाको फेदीमा प्राकृतिक तातोपानीको कुण्ड छ ।

