
मल्लाज, ः नेपाली सेनाको नयाँ रणभीम गुल्म अन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक, पर्वतको आयोजनामा बुधबार जलजला गाउँपालिका–४, फड्केढुङ्गामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा पाँच सय ३१ जना सर्वसाधारणले सेवा प्राप्त गरेका आयोजकले जनाएका छन् । निशूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण सम्बन्धी सेवा उपलब्ध गराइएको रणभीम गुल्मका गुल्मपति चिरञ्जिवी सुवेदीले जानकारी दिनुभयो । आठ जना चिकित्सकको टोलीले स्त्री तथा प्रसुति, हड्डी तथा जोर्नी, दन्त, छाला, नेत्र, उच्च रक्तचाप, मधुमेह, कान, नाक, घाँटी तथा आँखा र जनरल सम्बन्धी सेवा दिनुभएको थियो ।
सैनिक अस्पताल पोखराका डा. प्राबिधिक उपसेनानी आशिस बोहोरा, अमित तुलाचन, सैनिक फिल्ड अस्पताल बागलुङका प्राविधिक सहसेनानी असिम भण्डारी, धौलागिरि प्रादेशिक अस्पताल बागलुङका अनिलप्रसाद पोखरेल, सुरतप्रसाद ओझा, प्रदेश अस्पताल बेनीका हेमन्त बास्तोला र पुजा कुमारीले सेवा दिनुभएको थियो ।
क्लिनिक नेपाल भरतपुर, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत, प्रादेशिक अस्पताल कुश्मा र जलजला गाउँपालिकाले शिविरमा वितरण गरिएको औषधीको ब्यवस्था मिलाएका हुन् । नागरिक–सैनिक सम्बध सुदृढीकरण गर्ने उद्देश्यले नियमित कार्यक्रम अनुसार स्वास्थ्य शिविर आयोजना गरिएको गुल्मपति सुवेदीले बताउनुभयो ।
जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजाका बासिन्दा लाभान्वित भएका जलजला–४ का वडा अध्यक्ष भरत क्षेत्रीले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रका विपिन्न, अशाहय, अशक्त, दलित समुदायका नागरिकहरुलाई लक्षित गरेर नेपाली सेनासँग समन्वय गरेर शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।
गाउँमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउँदा खुसी लागेको मल्लाजका चक्रबहादुर मल्लले प्रतिक्रिया दिनुभयो । मल्लाजकै बिष्णु परियारले बेनी, कुश्मा, बागलुङ, पोखराका अस्पतालमा पुगेर सेवा लिदाँ हुने समय र खर्चको बचत भएको बताउनुभयो । मनोहरा मल्लले जेष्ठ नागरिक, विपन्न र अशक्तहरुका लागि प्रभावकारी बनेको निशूल्क स्वास्थ्य शिविरको निरन्तरताको अपेक्षा गर्नुभयो ।

