
मल्कवाङ ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइन मार्फत विद्युतीकरण भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभीए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
गत मंसिर महिनामा प्रशारण लाइनको परिक्षण र ट्रान्सफर्मरको चार्ज भएको थियो । मिटरबक्स जडान र वायरिङ सकिएपछि यसै महिनादेखि घरघरमा केन्द्रिय लाइनको बिजुली बालिएको वडा अध्यक्ष छन्त्यालले बताउनुुभयो ।

“छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा पहिलो चरणमा ४३ वटा घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ४६ वटा मिटर जडान भएर बिजुली बालेका छौ,” उहाँले भन्नुभयो “होपाखोला टोलमा अर्को चरणमा लाइन विस्तार गरिने विद्युुत प्राधिकरणले प्रतिवद्धता जनाएको छ ।”

धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार टोलमा गत असारमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत लगिने भएको छ । यहाँका बासिन्दा हाल नन्दीबाङ खोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन् ।
म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु. २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं.–४ ओखरबोटका छ सय, च्युरीबोटका करिब एक सय, धवलागिरी गाउँपालिकाको मलम्पारका एक सय ५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।
तीन सय ७० घरपरिवारको बसोबास रहेको लुलाङमा पनि ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।
मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । यो ठेक्का मार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जा बाहेकका बस्तिहरुमा केन्द्रिय विद्युत सुविधा पुुग्ने केन्द्रका प्रमुख गामीले बताउनुभयो ।

