
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ ।
चार कोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहीने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको जोखिमयुक्त भवनमा बसेर पठनपाठन गर्नुपर्ने बिद्यार्थी शिक्षकको समस्या हटेको हो ।
कक्षा कोठा भवन बनेपछि सुरक्षित वातावरणमा सहज रुपमा पठनपाठन हुन थालेको विद्यालयका प्रअ मैयाकुमारी बरुवालले बताउनुभयो । “यसअघि कक्षाकोठा भवन जिर्ण हुँदा डरत्रास थियो,” उहाँले भन्नुभयो “सुरक्षित भवन बनेपछि सुरक्षित भएर ढुक्कसँग पठनपाठन गर्ने वातावरण सिर्जना भएको छ ।”



कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन् । अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु. २० लाख र चालु आर्थिक वर्षमा रु. पाँच लाख ५० हजार बजेट बिनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु. एक लाख ४९ हजार सहयोग गरेको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

