गुराँसको सौन्दर्यमा रमाउन घोडेपानीमा पर्यटकको चाप, सडकको हिलोले सास्ती

Gandaki Ghumau

बेनी, १४ चैत ः “म त लाली गुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु” स्वर सम्राट स्व. नारायण गोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।

बसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ । घोडेपानीका होटल ब्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाहरुले दुई दिनयता होटलहरु भरिभराउ भएका बताउनुभयो ।

“चैतेदशै, रामनवमी र शनिबारको लगातार तीन दिनको बिदा मनाउनका लागि पोखरा, म्याग्दी र काठमाडौ लगायतका ठाउँबाट आएका पाहुनाहरुले होटलहरु भरिएका हुन,” उहाँले भन्नुभयो “गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सुर्योदय, हिमशृङखला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ ।”
घोडेपानीका २७ वटा होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।
घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क संकलनका लागि चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाबाट ठेक्का पाएका ब्यवसायी सुदिप पुर्जाका अनुसार शुक्रबार चार सय जना नेपाली र ५० जना विदेशी भ्रमणमा आएका बताउनुभयो । हप्तादिनअघि दैनिक दुई सय जनाको हाराहारीमा पाहुनाहरु आएका थिए । बिहिबारदेखि पाहुनाको आगमन बढेको पुर्जाले बताउनुभयो ।
चैत–वैशाख गुराँस फुल्ने याम हो । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि बसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।

Shreekrishna

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उहाँको दावी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव सुनाउनुभयो ।

स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चङ्गा बनाएको पोखराबाट घोडेपानी घुम्न गएका दिया थापाले बताउनुभयो । गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको उहाँले अनुभव सुनाउनुभयो । पाहुनाहरुले गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडियो÷ तस्बिर खिचाएर आनन्द लिन्छन् ।

Gunasthariya Shiksya

घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो । गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ ।

फर्कंदा प्यारीबराहबाट भलखराचौरहुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ ।

घोडेपानीमा एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु. नौ सय ५० देखि एक हजार छ सय को प्याकेज बनाइएको छ । घोडेपानीमा सवारी साधन र पैदलयात्रा गरेर पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ ।

कास्कीको नयाँपुल देखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिक महिनादेखि सञ्चालनमा आएको छ । प्रत्येकजसो साँझमा बर्षात हुदाँ कच्चि सडकमा गाडी फस्दा पर्यटकहरुलाई समस्या भएको होटल ब्यवसायी उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।

उल्लेरीतर्फबाट घोडेपानी जाने सडक अन्र्तगत भाले ओडार र घारतर्फबाट जाने सडकमा प्यारीबाराही ताल जाने चोक क्षेत्रमा हिलोले समस्या भएको छ । पोखरेबगर देखि माथि हल्लेखर्क र लुलीयाको घुम्तिको पहिरोमा गाडी उक्लन नसकेर शुक्रबार साँझ सम्म गाडीको जाम भएको थियो ।

बिहान एकैछिन मात्र आकाश खुल्ने र दैनिकजसो बर्षात हुँदा मौसमले साथ दिएको छैन् । मध्यपुर्वका देशहरुमा उत्पन्न तनावका कारण विदेशी पर्यटकको आगमन न्युन भएको पुनले बताउनुभयो । घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरु रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।

“सडक मार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरुलाई घोडेपानी भित्र्याउन पोखरेबगर देखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ,” उहाँले भन्नुभयो “घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिएका छौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...