
बेनी, ः बजेट अभावका कारण गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित रणनीतिक महत्वका बहुबर्षीय सडक आयोजनाहरुको निर्माण कार्य प्रभावित बनेको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीलाई प्रदेश सरकारले बहुबर्षीय आयोजनाहरुका लागि बिनियोजन गरेको बजेट सकिएपछि ब्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधार सम्बन्धी ३२ वटा योजनाका लागि रु. ६२ करोड बिनियोजन भएको थियो ।
बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर दुरीमा कालोपत्र र ग्राभेल गर्ने कार्य लक्ष्य भन्दा पाँच महिना अघिनै सम्पन्न भएपनि बजेट अभावमा भुक्तानी नपाउँदा समस्या भएको निर्माण ब्यवसायी सुवासचन्द्र कार्कीले बताउनुभयो । रु. दुई करोड बजेट बिनियोजन भएको यो योजनाका लागि थप रु. दुई करोड ५० लाख बजेट अपुग भएको छ ।
गलेश्वर–पुलाश्रम (पछै)– जगन्नाथ जोड्ने सडक आयोजनाका निर्माण ब्यवसायी भिम सापकोटाले पनि लक्ष्य भन्दा पाँच महिना अघिनै योजना सम्पन्न गरेपनि बजेट अभावका कारण ऋण खोजेर मजदुरको ज्याला र आपुर्तिकर्तालाई भुक्तानी दिनुपरेको गुनासो गर्नुभयो । हाडेभिर–बगरफाँट–भकिम्ली र भगवति–सिजलगाउँ–बेग सडक योजनाका निर्माण ब्यवसायी निरज भण्डारीले बजेट सकिएपछि निर्माण कार्य स्थगित गरेको बताउनुभयो ।

क्रमागत १७ वटा योजनाका लागि रु. ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु. १० करोड बजेट प्राप्त भएको थियो । संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु. २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन बाहेक धेरैजसो सडकमा बजेट अभाव भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले बताउनुभयो ।
“सालबसाली योजनाहरुको ठेक्का प्रतिस्पर्धाको क्रममा घटेको करिब डेढ करोड आन्तरिक रकमान्तर र थप रु. आठ करोड ४५ लाख रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरेका छौ,” उहाँले भन्नुभयो “बजेट भएका योजनामा काम नहुँदा खर्च गर्न सकिएको छैन, काम भएका योजनाको बजेट सकिएपछि ब्यवसायीलाई काममा लगाउन समस्या भएको छ ।”

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ,
पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल, रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(२) का क्रमागत बहुबर्षीय योजनाहरु हुन् ।
निर्वाचन क्षेत्र १(१) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट –दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधिन छन् ।
रु. एक÷एक करोड बजेट बिनियोजन भएको बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुदै बैसरी सडक स्तरोन्नति योजनाको बहुबर्षीय ठेक्का आवहान भएको छ । रु. एक करोड बजेट बिनियोजन भएको फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि बुहबर्षीय ठेक्का आव्हान गर्न स्रोत सुनिश्चितता भएको छ ।
म्याग्दीका प्रदेशसभा सदस्यद्धय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावमा सडकको निर्माण अवधी लम्बिने अवस्था देखिएको विषयमा प्रदेश सरकार र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । अपुग बजेट रकमान्तरण गरेर काम गरेका ब्यवसायीलाई भुक्तानीको ब्यवस्था मिलाउन सरकारसँग पहल गरिरहेको उहाँहरुले बताउनुभयो ।
गत पुष महिनामा म्याग्दीमा आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजनाहरुमा बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभएको थियो । काम भएका आयोजनाका निर्माण ब्यवसायीहरुलाई भुक्तानीको ब्यवस्था मिलाउने उहाँको प्रतिवद्धता कार्यान्वयन नभएको गुनासो ब्यवसायीहरुले गरेका छन् ।

