
बेनी, ः म्याग्दीमा क्षयरोगीलाई उपचारको दायरामा ल्याउन चुनौति देखिएको छ ।
रोगीको पहिचान र उपचारको दायरामा ल्याउन नसक्नु प्रमुख चुनौति बनेको हो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले लक्ष्य अनुसार क्षयरोगी पहिचान हुन नसक्दा उपचारको दायरामा ल्याउन नसकिएको बताउनुभयो ।
“विभिन्न अध्ययनले एक लाख जनसंख्या बराबर दुई सय ४५ जना क्षयरोगी पहिचान गर्नुपर्ने लक्ष्य रहेपनि म्याग्दीमा पछिल्लो तीन वर्षमा अधिकतम वार्षिक ६३ जना मात्र क्षयरोगी पहिचान भएका छन,” विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार बेनीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “समाजमा लुकेर रहेका क्षयरोगीका कारण अरुमा सर्ने र नियन्त्रणमा चुनौति देखिएको हो ।”

चालु आर्थिक वर्ष २०८२÷०८३ को आठ महिनाको अवधीमा ३१ जना, २०८१÷०८२ मा ५०, २०८०÷०८१ मा ४७ र २०७९÷०८० मा ६३ जना क्षयरोगी पहिचान भएका थिए । चालु आर्थिक वर्षको हालसम्म बेनी नगरपालिकामा १३, अन्नपूर्णमा पाँच, मंगलामा तीन, रघुगंगामा दुई, मालिकामा सात र धवलागिरीमा एक जना क्षयरोगी पहिचान गरि उपचारको दायरामा ल्याइएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक मिनराज न्यौपानेले बताउनुभयो ।

“स्वास्थ्य संस्थामा आउने शंकास्पद बिरामीको खकार परिक्षण, रोगीको सम्पर्कमा रहेका र समुदाय स्तरमा शिविर सञ्चालन गरेर क्षयरोगी पहिचान गरिदै आएको छ,” उहाँले भन्नुभयो “समाजिक भेदभाव र लाल्छनाका कारण क्षयरोगीहरु उपचारको दायरामा नआउने र लुकेर बस्ने गर्दा चुनौति भएको छ ।”
क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र संक्रमितको परिवारका सदस्यको पनि खकार परीक्षण कार्य म्याग्दीमा न्यून भएकाले समुदायस्तरमा क्षयरोगीको संख्या अत्यधिक हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
प्रदेश अस्पताल बेनी, दरवाङ आधारभूत अस्पताल, ताकम र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकीमा क्षयरोगीको खकार परिक्षण तथा सबै स्वास्थ्य संस्थाबाट निशूल्क औषधी उपचारको ब्यवस्था रहेको छ ।
हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिएमा खकार जाँच गर्नुपर्छ । नियमित औषधि सेवन गरेमा ९० प्रतिशत क्षयरोगी निको भएका छन् ।

