
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ ।
गत फागुन ७ गते दानाका २४ वर्षीय सुकमन (सौरव) वि.क.को गैयाभाट भन्ने जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो । घटनाको बारेमा जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शवलाई परिक्षणका लागि बेनी अस्पतालमा ल्याएको थियो ।

शव परिक्षण प्रतिवेदन र घटनाको सुष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश वि.क.ले सौरवको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

शनिबार पक्राउ परेका प्रकाशले प्रहरीसँगको प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्विकार गरेका छन् । मदिरा सेवनपछि बिवाद हुँदा हत्याको रुपमा लिएको प्रकाशले स्विकार गरेका छन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटनालाई लुकाउने प्रयास भएको बुझिएको छ ।
ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शिर्षकमा म्याग्दी जिल्लाबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सीनाले बताउनुभयो ।

