
बेनी ः म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको छ ।
रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित छ वर्षअघि आयोजना शुरु भएको थियो ।
विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु. २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

रणवाङ –तोलावाङ खण्डमा गत वर्ष तीन किलोमिटर तीन सय मिटर दुरीमा डिबिएसडी प्रबिधिको कालोपत्र भएको थियो । ढाडखर्क, दरबाङ बजारमा पर्खाल, नाली तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत असार महिनायता सडक निर्माणको काम भएको छैन् ।
यही चैत महिनासम्म ठेक्काको म्याद रहेको योजनाका ठेकेदारलाई काममा फर्कन लिखित र मौखिक रुपमा पटक–पटक ताकेता गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले बताउनुभयो ।
म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ । दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको यातायात ब्यवसायी जिवन केसीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गतको यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयबासीको गुनासो छ ।
निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट बिनियोजन नहुनु, सम्झौता लगत्तै कोरोना महामारी, विपद् लगायतका कारणले ढिलाई भएको बताउनुभयो ।
एक दुई दिनमै मजदुर र उपकरण ल्याएर आउन लागेको थकालीले बताउनुभयो । अबको एक महिनाभित्र बाँकी काम सन्पन्न गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । बाङ्गेपहिरो प्रभावित सडकलाई ठेक्काबाट हटाइएको छ ।
पहिरो बाहेकका ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएको छ । गत आर्थिक वर्षमा रु. एक करोड ५० लाख बिनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप रु. एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो । चालु आर्थिक वर्षमा रु. दुई करोड ५० लाख बिनियोजन भएको छ । म्याग्दीमा यो आयोजनामा सबैभन्दा धेरै बजेट बिनियोजन भएपनि आर्थिक वर्षको आठ महिनासम्म बित्तीय प्रगति शून्य छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको बेनी–दरवाङ सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो ।
बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताउनुभयो ।
“आर्थिक वर्ष २०८०÷०८१ मा काम सम्पन्न गर्न पुग्ने गरि रु. पाँच करोड बिनियोजन गर्दा ठेकेदारले काम गरेन,” उहाँले भन्नुभयो “गत वर्ष बिनियोजन भएको बजेट नपुगेपछि रकमान्तर गरेर भुक्तानीको ब्यवस्था मिलाएका थियौ ।”
यस वर्ष बिनियोजन भएको बजेट अपुग भएमा थप बजेट ब्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउदै उहाँले निर्माण व्यवसायीले अधुरा कामलाई छिटो पूर्णता दिनुपर्ने बताउनुभयो ।

