
दाना, । नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका, म्याग्दीको पहिलो अधिवेशन शनिबारदेखि दानामा शुरु भएको छ ।
अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले मगर जातीको एकतामा जोड दिनुभयो । सबै मगरहरु एक हुन आग्रह गर्दै उहाँहरुले मगर समुदायमा विभाजन ल्याउन नहुने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा हिस्तानका दुर्गा पुर्जा पुनमगरको शब्द रचना, पुन मगर समाज यु.के.का संस्थापक अध्यक्ष बिल पुर्जा पुनले निर्माण, देव चोचाङ्गी पुनको संगित, गिता पाइजा, भविका पुन, पार्वति थापा, गायत्री राना, ध्रुब पुन, सेरेस रोका, सोहन गाहा र रविन घर्तिको स्वर रहेको नेपाल पुन मगर समाजको स्वागत गित सार्वजनिक गरिएको थियो ।


थमन तिलिजा पुनले लेख्नुभएको समुदाय दर्पण पुस्तकको बिमोचन गरिएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, पुन मगर समाज यु.के.का संस्थापक अध्यक्ष बिल पुर्जा पुन, नेपाल मगर संघ गण्डकीका उपाध्यक्ष तथा हेमबहादुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष संगिता पुन, नेपाल पुन मगर समाजका केन्द्रिय सदल्लाहकार प्रदिप पुन, कुलबिर राम्जाली लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पुन मगर समाज अन्नपूर्णका अध्यक्ष हस्तबहादुर पुनको अध्यक्षता, दुर्गा बहादुर पुर्जाको सञ्चालन र उपाध्यक्ष आनन्द शेरबुजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कलाकारहरुले मौलिक गित र नृत्य प्रस्तुत गर्नुभएको थियो ।
आइतबार समाजको नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने जनाइएको छ । अधिवेशन शुरु हुनुअघि दानामा झाँकी सहितको पदयात्रा गरेका थिए । अधिवेशनमा अन्नपूर्ण गाउँपालिकाको सबै आठ वटा वडाबाट पाँच÷पाँच जना प्रतिनिधी सहभागि भएका छन् ।

