
बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।
ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रशारण लाइन निर्माण सकिएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सकेर परिक्षण उत्पादन थालिएको जानकारी दिनुभयो ।
“बाँध, विद्युतगृह, पाइपलाइन, प्रशारणलाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परिक्षण सकिएको छ,” उहाँले भन्नुभयो “नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परिक्षण उत्पादनमा जुटेका छौ ।”

वि.स. २०७८ मा उक्त आयोजना निर्माण शुरु भएको थियो । आयोजना निर्माण स्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार नौ सय मिटर मुख्य पाइपलाईन र तीन सय मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण भएको छ । विद्युतगृह परिसरमा स्विचयार्ड निर्माण भएको छ ।

यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदी देखि बन्दी सम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रशारण लाइन निर्माण भएको छ । बन्दी देखि ठूलोखोला र चिमखोला देखि चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत आयोजनाको विद्युत केन्द्रिय प्रणालीमा आवद्ध गराइएको छ ।
देव उर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । रु. तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैङ्कले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रर्वद्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारण मार्फत जुटाइनेछ् ।
बेनी देखि आयोजना निर्माण स्थल जोड्ने सडक गत बैशाख–जेठ महिनामा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युतगृह, प्रशारण लाइन र स्विचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।
राहुघाट र सहायक नदीहरुमा यसअघि तीन वटा जलविद्युत आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रर्वद्धन गरेको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट– मङ्गले र त्यसको क्यासकेडको रुपमा ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आइसकेका छन् ।
राहुघाटको सहायक ठुलोखोलामा संयुक्त उर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले गत भदौ महिनादेखि व्यवसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

