
मुना ः गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारी साधन गुड्न थालेका छन् ।
एक सय २२ किलोमिटर दुरीको हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने एक सय २२ किलोमिटर दुरीको यो सडक मध्य पहाडी लोकमार्गको बागलुङ– काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङ देखि पुर्वी रुकुमको काँक्रीको दुरी एक सय ७५ किलोमिटर छ ।
पुथा उत्तरगंगा गाउँपालिकाको बा २ झ ३५३७ नम्बरको गाडी तकसेरा देखि बिहिबार पहिलो पटक ढोरपाटन– बेनी हुदै काठमाडौ गएको हो । पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तिमगरले सवारी सञ्चालनको लागि सम्भाव्यता अध्ययनका लागि केही दिनअघि मार्ग खुलेको सडक प्रयोग गरेर बेनी हुदै काठमाडौ गएको बताउनुभयो ।

“सडक मार्ग नहुँदा पोखरा हुदै काठमाडौ जानका लागि ढोरपाटन–बेनीको बाटो प्रयोग गर्दै आएका थियौ,” उहाँले भन्नुभयो “पुरानो पदमार्गलाई आधार मानेर अहिले खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पुर्वी, पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा–काठमाडौ जान आउन छोटो र सजिलो हुन्छ ।”

तकसेरा देखि गाडीमा पाँच घण्टाको यात्रापछि धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा आइपुगेका अध्यक्ष पुनको टोलीलाई उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले स्वागत गर्नुभयो ।
“बेनी देखि मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने ७५ किलोमिटर दुरीको सडकको गत पुषमा मार्ग खुलेको थियो,” धवलागिरीका उपाध्यक्ष पुनमगरले भन्नुभयो “ढोरपाटन र तकसेरा सडकको यही फागुन तेस्रो साता ट्याक खुलेकाले हिउँद याममा जिप र मोटरसाइकलमा यात्रा गर्न सकिने भएको छ ।”
स्तरोन्नति गर्न र खोलाहरुमा मोटर चल्ने पुल बनाउन बाँकी यो सडकले ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकहरुलाई पनि सहज हुने धवलागिरीका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । हाल प्रयोगमा आइरहेको बागलुङ देखि बुर्तीबाङ हुदै ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किलोमिटर छ ।

नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पमा छोटो दुरिको सडकका रुपमा विकास हुने सम्भावना रहेको छ । बेनी देखि वि.स. २०५५ मा यो सडक निर्माण सुरु भएको थियो ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ५० किलोमिटर दूरी छोटो भएको बताउनुभयो ।
बेनी देखि तातोपानी–बाबियाचौर हुदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङ देखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

हालै सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा पुर्वी रुकुमबाट निर्वाचित हुनुभएका पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले गत माघ २८ बेनीमा भएको कार्यक्रममा म्याग्दी देखि ढोरपाटन हुदै तकसेरा जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।
पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । विश्वभरका शाहासी शिकारीहरुको गन्तब्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरुको पनि रोजाईमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् ।

