म्याग्दीबाट निर्वाचित सांसद महाविरलाई अभद्र ब्यवहार गर्ने विकास पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेर पोखराको पृथ्वीचोकमा किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन र अभद्र ब्यवहार प्रर्दशन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दीबाट स्वतन्त्र चुनाव जितेपछि पनि पोखराको पृथ्वीचोकमा कृषि औजार कारखानाका लागि भन्दै किताब बेचिरहेका महावीरसँग २५ फागुनमा एक व्यक्तिले प्रश्न गर्ने क्रममा भनाभन भएको भिडियो सार्वजनिक भएको थियो ।
महावीर पुनसँग सांसदको काम किताब बेच्ने हो भन्दै प्रश्न गरेका व्यक्तिबीच भनाभन हुँदै अपमानजनक व्यवहार भएको भन्दै प्रश्नसमेत उठेको थियो । महावीर र ती व्यक्तिबीच भनाभन हुँदै एकअर्काले ‘थुक्क’ भनेको भिडियो भाइरल बनेको थियो ।
महावीरलाई अभद्र व्यवहार गरेको भन्दै प्रश्न उठेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । महाविरका सहयोगी योगकुमार फगामीले अभद्र ब्यवहार गर्ने विकास गुरुङका विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।
पोखरा वडा नम्बर १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई बिहीबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले पुष्टि गर्नुभयो । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा विकाशले महावीरलाई सांसदको काम किताब बेच्ने नभएको बताएका थिए भने त्यही क्रममा भनाभन हुँदै अपमानजनक व्यवहारसमेत भएको थियो । यो घटना र व्यवहारलाई लिएर सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएका छन् ।
सांसद भए पनि संसद् नचलेकाले यो बीचमा कारखानाका लागि भन्दै पैसा उठाउन किताब बेचेको बताएका महावीरले ठीक काम गरेको भन्दै प्रशंसा गर्नेहरू पनि छन् भने सांसद भइसकेपछि पनि किताब बेच्दै हिँड्नु लोकप्रियतामात्रै भएकाले ती नागरिकको प्रश्न ठीक भन्ने प्रतिक्रिया जनाउनेहरू पनि छन् ।
तर, पूर्वमन्त्री तथा सांसदलाई अपमानजनक व्यवहार गर्नुको कारण खोज्नुपर्ने आवाज उठेपछि प्रहरीले विकासलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।
विकासले प्रहरीलाई आफूले प्रश्न गर्न जवाफ चित्त नबुझेपछि रिस उठेको र आफ्नो छिटो रिस उठ्ने बानीसमेत रहेको प्रतिक्रिया दिनुभएको छ । उनलाई अनुसन्धानपछि कागज गराएर छाड्न सकिने प्रहरी स्रोतले जनाएको छ ।
सांसद भइसकेपछि पनि किन किताब बेचेको भनेर प्रश्न गर्दा दुईबीच भनाभन हुँदै एकअर्काको अपमान भएको निहुँमा पक्राउ गर्नु गलत हुने आवाजसमेत उठिरहेको छ । सांसद, पूर्वमन्त्री हुनेबित्तिकै प्रश्न गर्नै नपाउने, उनी सडकमा किताब बेचेर साधारण मानिसको परिचय दिँदै चर्चा बटुल्ने तर नागरिकले प्रश्न गर्दा भनाभन भयो भनेर पक्राउ गर्नु अन्याय हुनेसमेत प्रतिक्रिया आइरहेका छन् ।
महावीरले अहिले पनि पोखरामा किताब बेचिरहनुभएको छ । उहाँले आफू फुर्सदमा भएकाले किताब बिक्री गरेको बताउनुभयो । पक्राउ पर्ने व्यक्ति ३ पटकसम्म लागुऔषध मुद्दामा सजाय पाएको प्रहरीको भनाइ छ । तर, अन्य कसुरमा सजाय पाएकाले यो घटनामा पनि उनलाई मात्र दोषी देखाएर कारबाही गर्न नहुने तर्क पनि नागरिक तहबाट उठिरहेको छ ।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानान्यायाधिश सुशीला कार्की नेतृत्वको सरकारमा महावीर शिक्षामन्त्री हुनुभएको थियो । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र चुनाव लडेका महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो । महावीरले म्याग्दीबाट लोकप्रिय मतका साथ जित्नुभएको थियो ।
चुनाव जितेर पोखरामा हस्ताक्षर गर्दै किताब बेचिरहेका महावीरलाई विकासले जनताले जिताएको किताब बेच्न हो भनेर प्रश्न गर्नुभएको थियो । ‘तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ?’ महावीरलाई विकासले प्रश्न सोधेका छन, ‘तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन, त्यही गर्नु न ।’
जनताले कारखाना चलाउन म्यान्डेड दिएको महावीरले जवाफ फर्काउनुभएको थियो । उहाँलाई फेरि ती व्यक्तिले प्रश्न गर्छन, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त ?’ नोकझोकै क्रममा विकासले महावीरलाई लक्षित गर्दै ‘थुक्क’ भन्छन् भने महावीरले पनि त्यसै गरेको भिडियोमा देखिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...