
बेनी ः रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण भएको छ ।
सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो ।
एकिकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाट देखि बगैचातर्फ ८० मिटर पक्की सिढी र एक सय ३७ मिटर दुरीमा फलामको रेलिङ सहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो ।


उहाँका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा रु. पाँच लाख बजेट बिनियोजन गरेको उक्त पदमार्ग निर्माणका लागि उपभोक्ताहरुले रु. ३६ हजार बराबरको श्रमदान गरेका छन् ।
दुई दशकअघि सडकको मार्ग खुलेपछि विस्थापित बनेको पदमार्ग पछिल्लो समय पहिरोका कारण छियाछिया हुँदा बिषेश गरेर घाटमा शव ल्याएर आउन मलामीहरुलाई असहज भएको थियो । भिरालो र अप्ठ्यारो ठाउँमा पदमार्ग तथा रेलिङ बनेपछि सहज र सुरक्षित रुपमा यात्रा गर्न पाएका बगैचाका बासिन्दा नारायण सुवेदीले बताउनुभयो ।
म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जिल्लाकै ठूलो बस्तिका बासिन्दाले प्रयोग गर्ने पदमार्गलाई ब्यवस्थित गर्ने कार्यलाई पूर्णता दिन आगामी वर्षको वार्षिक योजनामा समावेश गरि बजेट बिनियोजन गराउन पहल गरिने बताउनुभयो ।

