
बेनी, प्रतिनिधीसभा सदस्य निर्वाचन अन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ ।
प्रत्यक्षतर्फ तीन हजार एक सय ७६ र समानुपातिकतर्फ एक हजार सात सय १० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.स. २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो ।
फागुन २१ गते बिहिबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार तीन सय ३६ मत खसेकोमा ४३ हजार एक सय ६० मत सदर भएको थियो । समानुपातिक तर्फ ४७ हजार दुई सय ६१ मत खसेकोमा ४५ हजार नौ सय छ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले बताउनुभयो ।


वि.स. २०७९ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार छ सय ९९ मत खसेकोमा चार दशमलब दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार छ सय १४ मत सदर भएको थियो ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ५० हजार तीन सय ७८ मत खसेकोमा पाँच दशमलब २५ प्रतिशत अथवा दुई हजार छ सय ४६ मत बदर र ४७ हजार सात सय ३२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ ।
मत बदरको दर बढ्नुमा मतदाता शिक्षाको कमी प्रमुख कारण देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी बन्न नसकेको पाइएको छ । राजनीतिक दलका नेता कार्यकर्ता र उमेद्वारका समर्थकहरुले पनि मतदाता शिक्षामा ध्यान दिन नसक्दा मत बदरको दर बढेको हो ।
मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको निर्वाचन अधिकारी गौतमले बताउनुभयो । ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ५४ प्रतिशत मत खसेको थियो ।

