म्याग्दीको राजनितिमा महाविरको उदय

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सन्तोष गौतम
बेनी ः राजनीतिक दलहरुको परम्परागत प्रभाव क्षेत्र भत्काएर म्याग्दीमा स्वतन्त्र उमेद्वार महाविर पुनको उदय भएको छ ।

सामाजिक अभियान्ताको पहिचान बनाएका ७१ वर्षीय महाविरको राष्ट्रिय, अन्तराष्ट्रिय छवी र व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जितेर राजनीतिक दलहरुको सांगठनिक शक्तिमाथि हाबी हुँदै फराकिलो मतान्तरका साथ ऐतिहाँसिक जित निकालेका हुन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रीबाट राजिनामा दिएर चुनावी प्रतिस्पर्धाका लागि जन्मथलोमा आएका महाविरले एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार नौ सय ३१ मतान्तरले पछि पारेर जित हाँसिल गरेका हुन् ।

Shreekrishna

महाविरले २२ हजार आठ सय ५० मतका साथ जित निकाल्दा निकटतम प्रतिस्पर्धी एमालेका श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले छ हजार आठ सय ८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार पाँच सय २९ मत प्राप्त गरेका छन् । उमेद्वारी फिर्ता लिने समय सकिएपछि महाविरलाई समर्थन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवराज रोकाले एक हजार पाँच सय ३० मत पाएका छन् ।

चुनावी सभामा आएनन, मतदान गरे


म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक बिष्णुप्रसाद आचार्यले यसपालीको चुनावमा म्याग्दीबासीले सबै उमेद्वारहरुलाई सहानुभूति र सम्मान गरेपनि मत परिवर्तनको राष्ट्रिय माहोल र पुराना दलहरुप्रतिको असन्तुष्टिको फाइदा महाविरलाई पुगेको बताए ।

‘राजनीतिक कार्यकर्ताहरुको दबदवा, नेता–कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सम्बन्धका कारण मतदाताहरु खुल्न नसक्ने अवस्थामा भने जस्तो काम गर्न नसकेको झोकमा मन्त्री पद छाडेर चुनाव लड्न आएका महाविरलाई चुनौति हुने आँकलन र पुर्व अनुमान मिलेन,’ उनले भने ‘यसपाली लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत काम गरेन, बरु यसले महाविरलाई जित्न झन सहज बनाएको देखियो ।’

महाविरको जितले म्याग्दीमा राजनीतिक दल तथा नेताहरुलाई समाजमा कार्यकर्ता बाहेक पनि मानिसहरु छन र चुनाव जित्नको लागि संगठन, शक्ति र पैसानै चाहिने रहेछ भन्ने धारणाबाट मुक्त हुन सन्देश दिएको आचार्य बताउँछन् ।

फागुन ११ गते बेनीको खुल्ला मञ्चमा आयोजना गरिएको महाविरको आमसभाको उपस्थिति देखेर हौसियका राजनीतिक दलका नेताहरुले मतगणना हुन थालेपछि मतदाताले मत मार्फत मौन बिद्रोह गरेको भेउ पाएका थिए ।

पञ्चायतकालमा राप्रपाका भिमप्रसाद गौचनले दुई पटक चुनाव जितेको म्याग्दीमा बहुदल स्थापना भएपछिको तीन वटा बाहेकका चुनावमा एमालेका उमेद्वार बिजयी भएका थिए ।

वि.स. २०५३ मा एमालेका नील तिलिजाले जितेका थिए । वि.स. २०५६ मा काँग्रेसका नारायणसिंह पुनले चुनाव जितेको म्याग्दीमा २३ वर्षपछि वि.स. २०७९ को निर्वाचनमा खमबहादुर गर्बुजा बिजयी भएका थिए । वि.स. २०६४ मा माओवादीका गोविन्द पौडेल, २०७० मा एमालेका नवराज शर्मा र २०७४ मा एमालेकै भुपेन्द्र थापाले म्याग्दीबाट जितेका थिए ।

प्रवासी र युवाले फेरिदिए मतदाताको मन


सामान्य र अनौपचारिक प्रचार शैली अपनाएका महाविरले स्वतन्त्रबाट चुनाव जित्लान भनेर भनेर सदरमुकाममा बसेर नेताका वरिवरि रमाउने नेता कार्यकर्ताहरुले कल्पना पनि गरेका थिएनन् । महाविरको चुनावी अभियानमा सघाउन बेलायतबाट आएका रघुगंगा गाउँपालिका–१ बेगका योगकुमार फगामी पनि मतदाताहरुले आफूहरुलाई पनि आश्चार्यमा पार्ने गरि महाविरलाई मत दिएकामा अनौठो मान्छन् ।

‘चुनाव जित्नका लागि हामीसँग संगठन र रणनीति केही थिएन, गाउँमा पुग्ने सबै उमेद्वारलाई समान हिसाबले स्वागत सम्मान गरेका मतदाताले कसलाई मत दिन्छन भनेर हामी पनि अन्यौलमै थियौ,’ उनले भने ‘मतगणना हुन थालेपछि नसोचेको ठाउँबाट पनि भोट आएको देख्दा हामीलाई पनि अचम्म लाग्यो ।’

राजनीतिक दल र तीनका भातृ संगठनमा आवद्ध नभएका स्वतन्त्र मतदाताहरुलाई विदेश, म्याग्दी भन्दा बाहिरका बजारमा रहेकाहरुले महाविरको पक्षमा सकारात्मक बनाउन भूमिका खेल्नु, विद्यालयको पुस्तकमा महाविरको बारेमा पढेका विद्यार्थीहरुले अभिभावकलाई उनलाई सघाउनु र सामाजिक सञ्जाल तथा प्रबिधीको प्रयोगले मतदाताहरुले नखुलेर, झण्डा नबोकी, चुनावी सभामा सहभागी नभएर पनि मत दिने वातावरण बनेको धवलागिरी गाउँपालिका–६ का डिके पुनले बताए ।

‘स्थानीय तहका जनप्रतिनिधी, नेता कार्यकर्तासँगको सम्बन्ध नबिगारिकन महाविरलाई सहयोग गर्न चाहने धेरै मतदाताहरुको मौनताले राजनीतिक वृत्तमा भ्रम थियो,’ उनि भन्छन् ‘विकल्पको खोजीमा रहेका म्याग्देली मतदाताहरुले महाविरलाई जिताएर मत मार्फत मौन बिद्रोह गरि जनता कसैको दास हुदैनन्, चेतनशिल भइसके भन्ने सन्देश दिएका छन् ।’

दलहरुको परम्परागत गढ भत्कियो

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


परम्परागत दलहरुले ‘कोर एरिया’, ‘गढ’ र आधार क्षेत्र दावी गर्ने वडाहरुमै प्रत्यक्षमा स्वतन्त्र उमेद्वार र समानुपातिकमा रास्वपाले लोकप्रिय मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार नौ सय ८७, नेकपा (एमाले)ले नौ हजार चार सय ५७, नेपाली काँग्रेसले सात हजार पाँच सय ९४ र नेपाली कम्युनिष्ट पार्टीले चार हजार एक सय ६२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

श्रम संस्कृति पार्टीले एक हजार सात सय १५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् । म्याग्दीमा समानुपातिकतर्फ ४७ हजार दुई सय ६१ मत खसेको थियो । एक हजार सात सय १० मत बदर र ४५ हजार नौ सय छ मत गणना भएको थियो ।

४५ मध्य छ वटा (धवलागिरीको गुर्जा, लुलाङ, मल्कवाङ, पिप्ले र कुइनेमंगले बाहेक)का वडामा महाविरले अन्य उमेद्वारले भन्दा बढी मत पाए । छ वटै स्थानीय तहको मतमा प्रत्यक्षमा महाविर र समानुपातिकमा स्वतन्त्र पार्टीले अगुवाई गरेकाले परम्परागत दलहरुको आधार क्षेत्र भत्किएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका संविधानसभा सदस्य गोविन्द पौडेलले जनमतको सम्मान, कमिकमजोरीको समिक्षा, कार्यशैली सुधार गर्नुपर्ने प्रतिक्रिया दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ नजिकको संख्यामा नतिजा ल्याउँदा दलबिहिन स्वतन्त्र सांसद हुने सम्भवत पुन एक्ला हुनेछन् ।

सामाजिक अभियान्ताबाट संसदको भूमिका


हाल चितवनमा बस्दै आएका पुनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा हो । गत असोजमा मन्त्रीको जिम्मेवारीमा पुगेपछि मतदाता नामावलीमा नाम दर्ता गरेका पुनले हालसम्म मतदान गरेका छैनन्् । चितवनमा नाम भएकाले आफैलाई पनि मतदान गरेनन् ।

अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट वि.स. २०४९ मा स्नाकोत्तर गरेका महाविर म्याग्दीको सूचना प्रबिधी, शिक्षा र पर्यटन विकासमा सक्रिय रहदै आएका छन् । वि.स. २०५८–६४ को समयमा पोखरा, काठमाडौ लगायत सहर बजारमा रहेका सरकारी कार्यालयहरुमा समेत पर्याप्त मात्रामा कम्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरुमा कम्प्युटर शिक्षाको सुरुवात र ताररहित इन्टरनेट सुविधा विस्तार गरेका थिए ।

ग्रामिण क्षेत्रमा सूचना प्रबिधीको विकास र विस्तार गरेकोमा उनले एसियाको नोबल पुरस्कारका रुपमा चिचने म्यागासेसेबाट पुरस्कृत भएका थिए । उनले प्राप्त गरेको ५० हजार डलर (रु. ३५ लाख) पुरस्कार ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य, सञ्चार र सूचना प्रबिधिको विकासमा लगाउका थिए ।

चौरीपालन, माछापालन, तरकारी खेती गरेर ग्रामिण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाईमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाडा, टिकोट, डाडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ ।

पुनको अगुवाइमा वि.स. २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर गाउँका स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीलाई सहर बजारमा रहेका चिकित्सको परामर्शमा सेवा दिने अभ्यास गरेका छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको थियो । उहाँले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरंजा, झिँ लगायतका ठाउँमा नर्सरी स्थापना गरि बिरुवा उत्पादन र वृक्षारोपण हुदै आएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकहरुलाई प्रोत्साहन एवम् सहयोग गर्न व्यक्तिगत रुपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरि स्रोत जुटाएका थिए । आफ्नै जिवनकथाको पुस्तक बेचेर भएको रु. १२ करोड आम्दानी विरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा परिचालन गरेका छन् ।

पुनले सन २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्न सहित रु. १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् ।
‘उत्सव होइन, जिम्मेवारीको सन्देश’


म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साट्न आयोजना गर्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो । निर्वाचित उम्मेदवार र दलका नेता–कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो ।
शनिबार बिहान भारी मतान्तरले विजयी घोषणा भएका पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुनेखालको विजयी ¥याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उनलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए ।
मतदातालाई सम्बोधन गर्दै पुनले निर्वाचनमा जित–हार हुनु सामान्य प्रक्रिया भएको बताउँदै आफूले जितलाई उत्सव नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको प्रतिक्रिया दिए । ‘शिक्षा नीति सुधार गर्न म उम्मेदवार भएको थिएँ । जनताले भोट दिएपछि म निर्वाचित भएँ,’ उनले भने ‘अब कुनै खुसी मनाउने कुरा होइन, जिम्मेवारीको भारी बोकेर काम गर्ने कुरा हुन्छ । मतदानमा सहभागी सम्पूर्ण मतदाताप्रति म आभारी छु ।’
उनले जितमा मात्तिने र हारमा आत्तिने काम दुवै गलत भएको बताए । निर्वाचनबाट एक जना मात्र विजेता हुने र अन्य उम्मेदवारहरू पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने धारणा राखे । विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताए ।
हरेक विजयी उत्सवमा धेरै मानिसको समय र पैसा खर्च हुने गरेको उल्लेख गर्दै उहाँले समय अमूल्य भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्न आग्रह गरे । साथै, जिल्लाको विकासका लागि उम्मेदवार, राजनीतिक दल र सरोकारवालासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
शैक्षिक सुधारको मुद्दा

निर्वाचित भएपछि पुनले विद्यालय, विश्व विद्यालय, प्राविधिक शिक्षामा राजनितिकरण र स्वार्थ समूहको प्रभावलाई अन्त्य गरेर शैक्षिक सुधारका लागि नीति निर्माण गर्न अगुवाई गर्ने बताए । पुन अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रीबाट राजिनामा दिएर म्याग्दीमा उमेद्वार हुन आएका थिए ।

पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुरुवात गरेको वेतारे इन्टरनेट, नेपाली कागज उद्योग, माछा, खरायोपालन, नेपाली कागज उद्योग हाल नियमित सञ्चालनमा छैन् । कुनै कामलाई अधकल्चो छाडेर नयाँ काममा हात हाल्ने, आफ्नो अडानमा अडिक रहने र अरुको सल्लाह सुझाव कमै लिने र मान्ने महाविरको व्यक्तिगत स्वभाव भएको उनिसँग निकट भएर काम गरेकाहरु बताउँछन् ।

जनप्रतिनिधीको रुपमा समग्र जिल्लाको अभिभावकको रुपमा भूमिका खेल्न उहाँको व्यक्तिगत स्वभाव र कार्यशैली सुधार गर्नुपर्ने शुभेच्छुकहरुको अपेक्षा छ । जनअपेक्षा अनुसार काम गर्नका लागि समन्वय र सहकार्यका लागि अगुवाई गर्नुपर्ने भूमिका महाविरलाई म्याग्देली जनताले दिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...