
म्याग्दी, ः प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उमेद्वार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार छ सय भन्दा बढी मतान्तरले अगाडी हुनुहुन्छ ।
धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार दुई सय आठ मत सहित अग्रता बनाउनुभएको हो ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार नौ सय छ मत गणना हुँन बाँकी छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार पाँच सय २४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले छ हजार दुई सय ७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार चार सय १२ मत प्राप्त गर्नुभएको छ । बिहिबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । ४२ हजार चार सय ४५ मत गणना सकिएको छ ।

