मुस्ताङमा काँग्रेसका योगेशको लगातार दोस्रो जित

Gandaki Ghumau

जोमसोम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधारा ढाडु विष्टलाई एक हजार पाँच सय चार मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले उम्मेदवार विष्टले एक हजार आठ सय तीन मत प्राप्त गर्नुभयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले सात सय ५९ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले एक सय ६१, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले एक सय ५१, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले नौ मत र मङ्गोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले तीन मत प्राप्त गर्नुभएको छ ।

Gunasthariya Shiksya


मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा छ हजार दुई सय ९८ मत खसेको थियो, जसमध्ये एक सय सात मत बदर भएको छ । पर्यटन र होटेल व्यवसाय हुँदै राजनीतिमा सक्रिय थकाली मुस्ताङबाट अघिल्लो २०७९ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
योगेशको जन्म २०५० साल वैशाख १७ गते (मुस्ताङको थासाङ–३ लेतेमा) भएको हो । २०७९ सालमा सम्पन्न सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी हुँदै खाता खोल्नुभएका उहाँले २०८२ मासमेत कांग्रेसका लागि खाता खोल्नुभएको हो ।
अघिल्लो चुनावमा उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतले पराजित गर्नुभयो । पहिलो पटक विजयी हुँदा उहाँले तीन हजार नौ सय ९२ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाउनुभएको थियो ।
योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्व मन्त्री रोमी गौचन र आमा लक्ष्मी थकालीका छोरा हुनुहुन्छ । मुस्ताङमा राजनीतिक परिवारमा जन्मिनुमएका थकालीले विद्यालय शिक्षा ललितपुरको लिटल एन्जेल्स स्कुलबाट लिनुभयो । उहाँले २०६८ सालमा एसएलसी दिएर विद्यालय तहको पठाइ पूरा गर्नुभएको हो। उच्च शिक्षाका लागि भने उहाँ भारत जानुभयो ।
बङ्गलोरस्थित एलायन्स विश्वविद्यालयबाट उहाँले ब्याचलर अफ विजनेस म्यानेजमेन्टको अध्ययन पूरा गर्नुभएको छ । राजनीति सुरु गर्नु अगाडि नै विभिन्न पेसा र व्यवसायको नेतृत्वदायी भूमिकामा सक्रिय थकालीले राजनीतिसँगै व्यवसायलाई निरन्तरता दिनुभएको छ ।
उहाँ होटेल र टुर्स एन्ड ट्राभल्स कम्पनीको नेतृत्वदायी भूमिकामा अझै सक्रिय हुनुहुन्छ । कृषिलाई युवासँग जोड्नुपर्छ भन्ने उहाँ केही समययता मुस्ताङमा व्यावसायिक किबी खेती गर्दै आउनुभएको छ । २०६१ सालदेखि राजनीतिमा आबद्ध थकाली जिल्ला, क्षेत्र हुँदै केन्द्रीय राजनीतिमा जोडिनुभएको हो । उहाँसँग प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य बनेर काम गरेको अनुभव छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...