
बेनी, ः प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक जना एक सय एक वर्षीय जेष्ठ नागरिकले मतदानमा सहभागी हुनुभएको छ ।
रघुगङ्गा गाउँपालिका–८ मा रहेको रितुङ मावि मतदान केन्द्रमा पात्लखर्केका रिबहादुर छन्त्यालले ले सबैभन्दा पहिले मतदान गर्नुभएको मतदान अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

वि.स. १९८२ बैशाख १४ गते जन्ममिति हुनुभएका रिबहादुरलाई उहाँका छोरा र नातीले बोकेर मतदान स्थलमा ल्याउनुभएको थियो । जेष्ठ नागरिक छन्त्यालले मतदानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै देशमा स्थिरता, शान्ति र सम्बृद्धिको अपेक्षा गरेको प्रतिक्रिया दिनुभयो ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटा वडामा रहेका एक सय २० वटा मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।
प्रतिनिधीसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

