नेकपाका उमेद्वार अर्जुन थापाको अन्नपूर्णमा मतदाता भेटघाट पूर्वाधार, पर्यटन र कृषिमा जोड

Gandaki Ghumau

बेनी । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यतालाई व्यवहारमा उतार्न र जिल्लाका सबै भूगोलको समावेशी विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा आईतवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले, वडा नम्बर ५ पाउद्धार र शिखमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार थापाले विकासको सुविधा पुग्न नसकेका बस्तीहरुलाई प्राथमिकतामा राखेर विकास निर्माण योजना तथा बजेट भित्र्याउन आफुले शसक्त भूमिका खेल्ने बताउनुभयो ।
उम्मेदवार थापाले कालीगण्डकी कारिडोरले समेटिएको यस गाउँपालिकाको पालिका र वडा कार्यालय जोड्ने मुख्य सडकहरु नै जिर्ण रहेकाले आफु निर्वाचित भएमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा र रेशम जुग्जालीले म्याग्दीमा जनतामा रहेको विकासप्रतिको चाहनलाई नेकपाले मात्रै पुरा गर्ने बताउँदै अर्जुन थापालाई बिजयी गराउन आह्वान गर्नुभयो ।
गण्डकी प्रदेश सकारका पुर्वमन्त्री समेत रहनुभएका जुग्जालीले पर्यटकीय स्थल घोरेपानी जोड्ने सडकलाई आफुहरुकै पहलमा स्तरोन्नती योजना सञ्चालन भएको बताउँदै अन्नपूर्णको महभिर, दोसल्ले हुँदै राम्चे नाँगी जोड्ने सडकलाई स्तरोन्नती गर्नका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले सबै नयाँ राम्रा र सबै पुराना नराम्रा नहुने बताउँदै उम्मेदवारका योजना र प्राथमिकता हेरेर मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले गाउँ बस्तीमा रहेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्यका समस्यालाई हल गर्न र कृषि, पर्यटन र जलविद्यूत क्षेत्रबाट समुदायको जीविकोपार्जनमा सुधार ल्याउनका लागि नेकपाले भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेता विनोद केसी, जिल्ला संयोजक शेरबहादुर केसी लगायतका नेताहरुले नयाँ पुस्ताको भावना र म्याग्देली जनताको विकासप्रतिको चाहनलाई सम्बोधन गर्न नेकपाका उम्मेदवार युवा नेता थापा सक्षम रहेकोमो जोड दिनुभयो । चुनाबी अभियानमा नेकपाका नेता बागबीर पाईजा, पूर्ण पाईजा लगायतका नेताहरुको समेत सहभागीता रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...