म्याग्दीमा जलविद्युतको सम्भावना र चुनावी मुद्दा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सन्तोष गौतम
बेनी ः म्याग्दीमा पछिल्लो दश वर्षयता दुई सय ८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रिय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलब पाँच मेगावाट क्षमताको दुई वटा आयोजना यसै वर्षभित्र निर्माण सकिएर राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा रहेका छन् ।

दुई सय ८२ दशमलब २५ मेगावाट क्षमताका नौ वटा जलविद्युत आयोजना निर्माणाधिन छन् । म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ ।

एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छ । सबस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेको हो । कालीगण्डकी, राहुघाट र म्याग्दी नदी जलाधार क्षेत्रको भूगोलमा विभाजित म्याग्दी जलविद्युतको हिसाबले प्रशस्त सम्भावना बोकेको जिल्ला हो ।

Shreekrishna

प्रशारण लाइन र सवस्टेशन निर्माण गरेर जलविद्युत आयोजना र लगानी भित्र्याउने मुद्दामा सफल भएका म्याग्दीका राजनीतिक दलका उमेद्वारहरुले आसन्न प्रतिनिधीसभा निर्वाचनका लागि जलविद्युतबाट म्याग्देलीको जिवनस्तर सुधार गर्ने मुद्दा अघि सारेका छन् ।

नेपाली कांग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी (के.बी)ले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता तथा जिल्लाभरका जनतालाई सहज हुने गरी जलविद्युतमा जोड्ने काम गर्ने बताउनुभयो ।

नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठले जलविद्युत आयोजनाले प्रभावित क्षेत्रको सामाजिक क्षेत्रमा परिचालन गर्ने बजेटलाई पारदर्शी र प्रभावकारी बनाउने तथा जिल्लाबासीलाई लगानीको वातावरण बनाउन नीति निर्माणमा भूमिका खेल्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माण सम्पन्न भएका आयोजनाहरुले प्रभावितहरुका लागि उपलब्ध गराउनुपर्ने कुल लागतको १० प्रतिशत संस्थापक सेयर लगानीको प्रक्रीयामा भएको ढिलाई प्रति चासो देखाउनुभएको छ ।

“प्रभावितलाई सेयर लगानीमा ढिलाई हुनुको कारण र समस्या पहिचान गरेर नीतिगत हिसाबले समाधान गर्नु मेरो प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो “थोरै पुँजी भएका सर्वसाधारणहरुले पनि नीतिगत ब्यवस्था अनुसार सेयर लगानीको अवसर पाएमा उनिहरुको आर्थिक स्तर सुधारमा सहयोग पुग्नेछ ।”

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा वि.स. २०७७ मा निर्माण सम्पन्न भएको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनामा संस्थापक सेयर लगानी गरेका प्रभावित क्षेत्रका बासिन्दाले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । मिस्त्रीखोला र ५ मेगावाटको घलेम्दीखोला बाहेकका आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर जारी गरेका छैनन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्रीबाट राजिनामा दिएर स्वतन्त्र उमेद्वारको रुपमा म्याग्दीमा चुनावी प्रतिस्पर्धा गर्न आउनुभएका डा. महाबिर पुनले पनि आर्थिक सम्बृद्धि र रोजगारीको लागि जलविद्युत आयोजनाहरु सम्भावनाको क्षेत्र भएको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई जति सक्दो छिटो संस्थापक सेयर लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । जिल्लाभित्रै रोजगारी, पेशा ब्यवसाय, मजदुरी गर्ने देखि प्रवासी म्याग्देलीहरुले पनि जलविद्युतमा लगानी गरेर आर्थिक स्तर सुधारको अवसर पाउने उहाँको अपेक्षा छ ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ मेगावाटको रेलेखोला, ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो जलविद्युत आयोजना निर्माण सकिएको छ ।
अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना शुरु भएको छ । ६६.५ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणाधिन छ ।

रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाटको मङ्गले राहुघाट, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, र २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छन् ।

म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् । १४ मेगावाट क्षमताको मुदीखोला र ६५ मेघावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पुहँचमार्ग निर्माण शुरु भएको छ ।

रघुगंगा गाउँपालिका–७ मा पाँच दशमलब पाँच मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।

म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी १७३ दशमलब ५३ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ ।

जलविद्युत आयोजनाले बनाएको पहुँचमार्गले नारच्याङ लेकगाउँ, रघुगंगाको दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगले, धवलागिरीको खिवाङ, नाउरा, चेचुङ, बगर जस्ता दुर्गम बस्तिमा सडक यातायातको पहुँच पुगेको छ । सामुदायिक उत्तरदायित्वका कार्यक्रमले स्थानीय विकासमा सहयोग पुगेको छ ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ ।

नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बन्नुभएको छ ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...