म्याग्दीमा रु. ३१ करोड ६० लाखको सुन्तला उत्पादन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः यस वर्ष म्याग्दीमा रु. ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । चार सय ३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार पाँच सय १५ मेट्रिक्टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँका बगैचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क संकलन गरिएको कार्यालयका प्रमुख सञ्जिब बाँस्तोलाले जानकारी दिनुभयो । “चार सय ३० हेक्टर जमिनको बगैचामा सुन्तला उत्पादन भएको छ,” उहाँले भन्नुभयो “किसानले सरदर प्रतिकिलो रु. ७० का दरले रु. ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।”
म्याग्दीको आठ सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैचा रहेको छ । गत वर्ष चार सय २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष रु. ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।
गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोग र किराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बास्तोलाले बताउनुभयो ।
“यस वर्ष मौसमले साथ दिएको हो । रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ”, बास्तोलाले भन्नुभयो, “एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।”
सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गत वर्ष प्रतिकिलोग्राम रु. ६५ का दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलोग्राम रु. पाँच बढी मूल्यमा बिक्री गरेका छन् ।
राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले बताउनुभयो । गिरिले आफ्नो बगैचाबाट यस वर्ष रु. ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताउनुभयो ।
यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...