
बेनी ः अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावले निर्वाचनमा कुनै असर सिर्जना नहुने स्पष्ट पार्नुभएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको ब्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
बुधबार बेनीमा आउनुभएका अर्थमन्त्री खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरुसँग निर्वाचनको तयारी र जिल्लाको बस्तुअवस्थाका विषयमा जानकारी लिनुभयो ।

“नयाँ पुराना सबै राजनीतिक दलहरुले सौहार्द र शान्तिपूर्ण तरिकाले चुनावमा भाग लिने बातावरण बनाएर सफल बनाउने सरकारको अहिलेको प्रमुख दायित्व हो,” खनालले भन्नुभयो “स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुदैन् भन्ने विश्वास दिलाउछु ।”


उहाँले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्नका लागि संवेदनशिल बन्न आग्रह गर्नुभयो । भ्रामक, मिथ्या सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले चुनावको लागि चुनौतिका रुपमा लिएर त्यसको सामना गर्ने रणनीति बनाएको बताउनुभयो ।
मौसमका कारणले फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसको निर्णय निर्वाचन आयोगले तत्कालै लिने बताउदै मन्त्री खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खनालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएकाले त्यही अनुसार परिचालन हुन निर्देशन दिनुभयो । ‘‘निर्वाचनको प्रचारप्रसारमा सबै राजनीतिक दल र उम्मेदवारलाई निर्धक्क रुपमा परिचालन हुने वातावरण बनाउन लागेको छ,” उहाँले भन्नुभयो “ सरकारले कसैलाई भेदभाव गर्दैन् । हिमाली जिल्लामा पनि तोकिएकै मितिमा निर्वाचन हुन्छ । हिमपातले निर्वाचन गराउन नसक्ने अवस्था आएमा उहीबेला नै सरकार र आयोगले उचित निर्णय गर्ने छ ।’’
छलफलका क्रममा अर्थमन्त्री खनाललले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढङ्गले सम्पन्न गर्न सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले जिल्लामा सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन समेत दिनुभयो ।

अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको अवस्था, मतदाता शिक्षा कार्यक्रम, निर्वाचन सामग्री लगायतका बारेमा जानकारी लिनुभएको छ । मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायत सुरक्षा अधिकारीहरुसँग चुनावको तयारीका विषयमा जानकारी लिनुभयो । हालसम्म शान्ति र सौहार्दपूर्ण रुपमा चुनावको तयारी अघि बढेको उहाँहरुले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले अस्थायी मतदाता र चुनावमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको जानकारी दिनुभयो । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधीसभामा एक वटा निर्वाचन क्षेत्र रहेको छ ।
म्याग्दीमा ११ जना दल र एक जना स्वतन्त्र उमेद्वार छन् । ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् ।

