
बेनी । ५५ वर्षपछि पारिवारिक पुर्नमिलन भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका धनबहादुर छन्त्यालले बुधबार ७६ वर्षको उमेरमा पहिलो पटक नागरिकता बनाउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले धनबहादुरलाई बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउनुभएको हो । ५५ वर्षपछि यसैहप्ता घर फर्किएका धनबहादुरलाई साइला दाजु कृष्णप्रसाद तुलाचनले नागरिकता बनाउन प्रशासन कार्यालयमा ल्याएर आउनुभएको थियो ।
वडा कार्यालयको सिफारिस र दाजुको सखानतको आधारमा सबै कानुनी प्रक्रिया पुरा गरेर वृद्ध अवस्थाका धनबहादुरलाई पहिलो पटक नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।


“२१ वर्षको उमेरमा कामको खोजीमा भारत गएका थिए,” धनबहादुरले भन्नुभयो “बुढेशकाल लागेपछि शरिर र स्वास्थ्यले काम गर्न साथ दिएन् । दाजुभाई, आफन्त र जन्मथलोको मायाले घर फर्कायो ।”
भारतको हिमाञ्चल प्रदेशको मुनाली भन्ने ठाउँमा स्याउ बगैचामा काम गर्दै आएका धनबहादुरले उतै बिहेबारी गर्नुभएको छ । बागलुङको बुर्तीबाङ ससुराली बनाएका धनबहादुरका दुई भाई छोरा पनि अहिलेसम्म नागरिकता बिहिन छन् ।
छिट्टै श्रीमति र छोराहरुलाई पनि बोलाएर नागरिकता दिने, पुख्यौली जग्गाको अंशबण्डा गरेर गाउँमै बस्ने योजना बनाएको धनबहादुरले बताउनुभयो । नागरिकता नहुँदा बैंक खाता खोल्न देखि विभिन्न प्रशासनिक काममा कठिनाई ब्यहोर्नुपरेको उहाँले अनुभव सुनाउनुभयो ।
धनबहादुरलाई धेरैबर्षसम्म खोजी र पर्खिएका परिवारका सदस्यहरुले माया मारेका थिए । “भाइको आस मारेको थिए, घरमा टुलुक्क आउँदा सपनाजस्तै लाग्यो,” कृष्णप्रसादले भन्नुभयो “बुढेशकालमा नसोचेको खुसी फर्कियो ।” आधा दशकसम्म हराएका धनबहादुरको घरफिर्ति र पारिवारिक पुर्नःमिलनले खुसीयाली छाएको छ ।

