
म्याग्दी, ः म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा शुरु भएको छ ।
मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले बुधबारदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।
बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो ।

“बेनी देखि दिल्ली सम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ,” उहाँले भन्नुभयो “बेनी देखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साझ ४ बजे बस छुट्नेछ ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।


बसको क्षमता ४५ जनाको रहेको छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् । यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलीपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–१ भरजुलाका सुसन किसानले बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताउनुभयो ।
सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारत मैत्री बस सेवा कार्यक्रम अन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुदै चिनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताउनुभयो ।
मुस्ताङको मुक्तिनाथ मन्दिरमा बार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्ने भन्दा निकै सस्तो भाडा, लुटिने जोखिम समेत कम हुने यातायात ब्यवसायी ऐनबहादुर शाहीले बताउनुभयो ।

