
बेनी ः म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालन एक वर्ष निर्माण अवधी भएको योजना लक्ष्य भन्दा पाँच महिना अघि सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकारले रु. तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनश्चित गरेको उक्त योजना निर्माणका लागि बि.बि.पी.एल. बि.एस. डि.एस धौलागिरी छनौट भएको थियो ।
२०८२ असार असार १६ गते रु. दुई करोड २३ लाख ४६ हजार मा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधी २०८३ असार १६ गतेसम्म थियो । निर्माण ब्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेको, स्थानीय स्तरमा सहजिकरण, निगरानी र सम्बद्ध कार्यालयबाट भएको समन्वयका कारण लक्ष्य अघिनै योजना सम्पन्न भएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

“धेरैजसो आयोजनाहरु ढिलासुस्तिले थला परेको अवस्थामा व्यवसायी, सम्बद्ध कार्यालयको इच्छाशक्ति र स्थानीय स्तरमा सहजिकरण गरेर काम हुने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश प्रवाह भएको छ,” उहाँले भन्नुभयो “योजना निर्माणमा आउने सामाजिक समस्याको सहजिकरण गर्न सरोकार समिति बनाएका थियौ ।”

यस योजना मार्फत बेनी नगरपालिका ९ गलेश्वर देखि काउलेगौडा हुदै कोशेपानी खण्डमा तीन सय मिटर ढलान र एक हजार सय सय मिटर दुरी सडकलाई फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर डा. महेन्द्र बानियाले बताउनुभयो ।
यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । लक्ष्य अघिनै निर्माण सम्पन्न गरेपनि बजेट अभावमा भुक्तानी नपाएको निर्माण ब्यवसायी भिम सापकोटाले बताउनुभयो । कार्यालयका अनुसार यस योजनामा ४८ लाख बजेट अपुग भएको छ ।
म्याग्दी हुदै मुस्ताङ जाने तिर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाई लम्बाउने र स्थानीयबासीहरुको सहजताका लागि गलेश्वर देखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति योजना थालिएको हो ।
गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दु धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापुर्वकालमा ऋषि मुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलिप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।
बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट ब्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरिएको वडा अध्यक्ष केसीले बताउनुभयो । अघिल्लो कार्यकालमा बेनी नगरपालिका मार्फत गलेश्वर–काउलेगौडा क्षेत्रमा करिब दुई किलोमिटर सडक स्तरोन्नति भएको थियो ।

