
बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनामा यही माघ १५ गते मृत भेटिएका सुरक्षा गार्ड भिष्म पौडेलको हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले ईलामको माई नगरपालिका–९ का ५५ वर्षीय पौडेलको हत्या र कवाडी सामान चोरीमा संलग्न छ जनालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सीनाले पौडेलको हत्यामा संलग्न म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका २९ वर्षीय भिमप्रसाद किसानलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
“प्रतिवादी भिमप्रसादले अन्य पाँच जना व्यक्तिहरुको संलग्नतामा माघ १४ गते राती जलविद्युत आयोजनाबाट वेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरेका थिए,” उहाँले भन्नुभयो “मृतक पौडेलले चोरी गरेको सूचना कम्पनीलाई जानकारी गराउने बताएपछि भिमप्रसादले काठको दाउराले टाउकोमा प्रहार गरि गम्भिर घाइते बनाएको र विद्युतगृहको दोस्रो तलामा रहेको प्वालबाट भुई तलामा फालेर हत्या गरेको खुलेको छ ।”
चोरीमा संलग्न रघुगङ्गा गाउँपालिका –३ का ५९ वर्षीय गमबहादुर शेन्चुरी, ५३ वर्षीय गिरीबहादुर मल्ल, रुपन्देहीको देवदह नगरपालिका–१ का ३१ वर्षीय तुलबहादुर गुरुङ, पर्वतको जलजला गाउँपालिका–३ वारीवेनी बस्ने २८ वर्षीय विज्ञानराज शर्मा र बेनी नगरपालिका–९ का ४१ वर्षीय शिव पुरी लाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुले चोरी गरेर बेचेको तार र वेल्डिङ मेशिन पनि बरामद भएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाईन शाखाबाट तालिमप्राप्त कुकुर सहितको बिशेषज्ञ सुरक्षाकर्मी र प्रदेश अस्पताल बेनीका चिकित्सकहरुको सहयोग लिएको थियो । मृतक पौडेल ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युतगृहमा ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स को तर्फबाट सुरक्षागार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

