
बेनी, । मुख्य निर्वाचन अधिकृतको कार्यालय, म्याग्दीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुई जना अनुगमन अधिकृत तोकेको छ ।
कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुर्यबहादुर थापाका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक रामप्रसाद शर्मालाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो ।
अनुगमन अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा निगरानी गर्नेछन् । आचारसंहिता उल्लङ्घन भएको पाइएमा कारबाही गर्न सक्ने अधिकार समेत उनीहरूलाई रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आचारसंहिता अनुसार जुलुस, आमसभा तथा प्रचारप्रसारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, स्टिकर वा लोगो प्रयोग गरे–नगरेको, पोस्टर, भित्तेलेखन, तुल तथा डिजिटल डिस्प्ले प्रयोग भए–नभएको, सवारी साधनको दुरुपयोग भए–नभएको विषयमा समेत अनुगमन गरिनेछ ।

त्यसैगरी, घोषणापत्र सार्वजनिक गरिएको वा नगरेको, निर्वाचन प्रचारका लागि सरकारी, सार्वजनिक वा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिइएको वा नलिइएको, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेर खर्च व्यवस्थापन गरिएको वा नगरेको विषयमा समेत अनुगमन गरिने जनाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको हो । आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १२ जना उमेद्वारहरु प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी उमेद्वार बन्नुभएको छ ।
उहाँका अनुसार नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार हुनुहुन्छ ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रीबाट राजीनामा दिनुभएका डा. महाविर पुन उमद्वार बन्नुभएको छ । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।

