बेनी सामुदायिकले जित्यो बेनी बोर्डिङ कप

Gandaki Ghumau

बेनी । बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ ।
बेनी खुल्लामञ्चमा शनिबार सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्ट पोइन्ट आवासीय माविलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो प्रतियोगिताका विजेताले नगद रु. ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता न्यु वेष्टपइन्ट आवासीय माविले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले गर्नुभएको थियो । यसअघि सेमिफाइनल खेलमा बेनी सामुदायिक माविले आयोजक बेनी बोर्डिङ सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
अर्को सेमिफाइनल खेलमा न्यु वेष्टपइन्ट एकेडेमीले प्रकाश माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा बेनी सामुदायिक माविले उत्कृष्ट खेल प्रदर्शन गर्दै निर्णायक गोल गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बेनी सामुदायिक माविका बाबिन शाही सर्वोत्कृष्ट खेलाडी घोषित भए भने गगन किशन उत्कृष्ट गोलरक्षक बने । त्यस्तै, बिजय भण्डारी उत्कृष्ट स्ट्राइकर र प्रबिन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । वेस्ट प्वाइन्टका आयुष मगर ७ गोलसहित प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका थिए ।
प्रतियोगितामा अन्तर–आधारभूत तह अन्तर्गत कक्षा १ देखि ८ सम्मका म्याग्दी जिल्लाका १७ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक विशाल खत्रीले जानकारी दिनुभयो । यसअघि विद्यालयको प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
आधारभूत तहका विद्यार्थीहरूबीच फुटबल प्रतिभा पहिचान र विकासमा योगदान पु¥याउँदै आएको बेनी बोर्डिङ कप म्याग्दी जिल्लामै निकै लोकप्रिय प्रतियोगिताका रूपमा स्थापित हुँदै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...