
बेनी । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उमेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको म्याग्दी–पोखरा सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उमेद्वार थापा सहित म्याग्दीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधी, नेकपाका नेता र पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आवद्ध संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा म्याग्दी जिल्लाको हालको अवस्था, समस्या, आवश्यकता, जिल्लामा सञ्चालित विकास आयोजना र आगामी योजना तथा कार्यक्रमहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै शुसासन, सामाजिक न्याय सहितको आर्थिक सम्बृद्धी हासिल गर्नका लागि नेकपाको जित आवश्यक रहेको बताउनुभयो ।

विगतदेखि हालसम्म म्याग्दीमा नेकपाको पहल र अगुवाइमा शुरु भएका विकास योजना देखि सामाजिक क्षेत्रमा भएका कामलाई पूर्णता दिनका लागि युवा नेतृत्वलाई उमेद्वार बनाएको पौडेलले बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले भावना, आग्रह र पूर्वाग्रह भन्दा पनि सक्षम र योग्य नेतृत्व चयन भएमा मात्र म्याग्दीबासीको अपेक्षा पुरा हुने बताउनुभयो । म्याग्दीको विकासका लागि टिम बनाउन म्याग्दीलाई चिनेको र सिंहदरबार बुझेका थापालाई उमेद्वार बनाएको बताउनुभयो ।


अर्का प्रदेशसभा सदस्य हरि भण्डारीले म्याग्दीबासीले नेकपाका जनप्रतिनिधीले गरेका काम हेरेर मतदान गर्ने अपेक्षा गर्नुभयो । विगतमा गरेका प्रतिवद्धता अनुसार केही काम भएका, केही शुरु भएका बताउदै उहाँले बाँकी काम गर्न आफूहरुलाई साथ चाहिएको बताउनुभयो ।
थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा हाँसिल गरेको अनुभवलाई म्याग्दीको विकास तथा सम्बृद्धि, शुसासनका पक्षमा लगाउन उमेद्वार बनेको बताउनुभयो । “शुसाषन कायम गराउनका लागि भ्रष्ट्राचारको अन्त्यका साथै नीति निर्माण र योजना तथा बजेट मार्फत म्याग्देलीको भावना र आवश्यकतालाई सम्बोधन गराउने मेरो मुख्य मुद्दा हो,” उहाँले भन्नुभयो “पूर्वाधार विकासको जगमा टेकेर म्याग्दीलाई पर्यटन, कृषि र जलविद्युत मार्फत सम्बृद्ध बनाउने मेरो योजना छ ।”
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र वडा नं. १ का अध्यक्ष झकबहादुर छन्त्यालले म्याग्दीको सन्तुलित विकासको अवधारणा अघि सारेर दुर्गम क्षेत्रको विकासमा प्राथमिकता दिने नेकपाका प्रतिनिधीले जितेमा काम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा ताकम–धारापानी समाज पोखराका अध्यक्ष झलक थापा, नेकपाका बेनी नगर अध्यक्ष नगेन्द्र केसी, सुकबहादुर रसाइली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । लोकनाथ भट्टराईको अध्यक्षता, बेलबहादुर परियारको सञ्चालन, ओम पुनको स्वागतमा सम्पन्न कार्यक्रममा डेकबहादुर बिकले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

