अघिल्लो चुनावमा आफ्नो टिकट गठबन्धनसँग साटेका गोविन्द पौडेल भन्नुहुन्छ‘युवाले अवसर र म्याग्दीले विकास पायो’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः वि.स. २०७९ को प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी लगायतका राजनीतिक दलहरुले गठबन्धन गरेका थिए ।

केन्द्रिय तहमा तत्कालीन गठबन्धनको शिर्ष नेताहरुबीच म्याग्दीको प्रतिनिधीसभामा तत्कालीन माओवादी केन्द्र र प्रदेशसभाको दुई वटा क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार बनाउने सहमति भयो ।

सहमति अनुसार माओवादीले वि.स. २०६४ मा निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका जिल्ला इञ्चार्ज गोविन्द पौडेललाई टिकट पठाइसकेको थियो । गठबन्धनमा आवद्ध दलका जिल्ला स्तरका नेता कार्यकर्ताहरुबीच भने काँग्रेसले संघीय र माओवादीले प्रदेशसभा सदस्यमा उमेद्वार बनाउने तयारी थियो ।

Shreekrishna

केन्द्रिय स्तरमा भएको सहमतिलाई नेता कार्यकर्ताहरुको भावना अनुसार उल्टाएर काँग्रेसले प्रतिनिधीसभा र माओवादीले प्रदेशसभाको दुई वटा क्षेत्रमा उमेद्वार बनाउने गठबन्धनमा आवद्ध राजनीतिक पार्टीहरुबीच समझदारी भएपछि त्यतीबेला म्याग्दीको राजनीतिमा तरंग पैदा गरेको थियो ।

त्यसबेला निर्वाचित प्रतिनिधीहरुको कार्यकाल पुरा नहुदै जनेजी आन्दोलनपछि संसद विघटन भएपछि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस सेन्टरले बिहिबार बेनीमा आयोजना गरेको उमेद्वारसँग भेटघाट कार्यक्रममा नेता पौडेलले अघिल्लो चुनावमा आफूलाई आएको टिकट गठबन्धनसँग साटेको प्रशंग उठाउनुभयो ।

‘त्यसबेला पाएको टिकट गठबन्धनसँग साटेर प्रदेशमा दुई जना सांसद बनाएर युवा नेतालाई अवसर दिदाँ आज म्याग्दीको विकासले गति लिएको छ,’ पौडेलले भन्नुभयो ‘पार्टीमा युवा नेतृत्व स्थापित गराउदा म्याग्दीले फाइदा पाएको छ त्यसैले यसपाली पनि हामी अग्रजहरुले युवा नेता अर्जुन थापालाई उमेद्वार बनाएर अघि सारेका छौ ।’

अघिल्लो चुनावमा प्रदेशसभामा तत्कालीन माओवादीका म्याग्दी १(क) मा हरिबहादुर भण्डारी र १(ख) मा रेशमबहादुर जुग्जाली निर्वाचित हुनुभएको थियो । वि.स. २०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी गठबन्धनबाट बिनोद कसी १(क)मा बिनोद केसी निर्वाचित हुनुभएको थियो ।

२०७९ मा निर्वाचित जुग्जाली वि.स. २०८० मा आठ महिना गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा म्याग्दीमा सडक पूर्वाधारका रणनीतिक र दिर्घकालिन महत्वका आयोजनाहरु भित्रिएकाले म्याग्दीमा नेकपाको प्रभाव बढ्दा राजनीतिक लाभ भएको नेताहरुको बुझाई छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

तत्कालीन गठबन्धनबाट निर्वाचित नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) गत बैशाखमा बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको अवस्थामा उर्जा, जलस्रोत तथा सिचाई राज्य मन्त्री हुनुभएको थियो । जेनजी आन्दोलनका कारण संसद बिघटन र काँग्रेस–एमाले गठबन्धन सरकार विस्थापित हुँदा गर्बुजाले चार महिना मात्रै राज्यमन्त्रीको जिम्मेवारी पाउनुभयो ।

युवाहरुलाई अवसर दिदाँ पहलकदमी लिने र सक्रीयताका साथ काम गर्ने भएकाले यसपाली धवलागिरी गाउँपालिका–७ का ४२ वर्षीय अर्जुन थापालाई उमेद्वार बनाएको नेकपाले विगतमा म्याग्दीमा आफ्ना जनप्रतिनिधीले गरेका कामको प्रभावले जनतामा पारेको विश्वास, एकिकृत समाजवादी सहितका माओवाटी घटक दलहरुबीचको एकता, अन्य पार्टीमा गएका नेता कार्यकर्तालाई फर्काउदा आसन्न चुनावमा जितको आधार बनेको नेताहरुले दावी गरेका छन् ।

यसअघि वि.स. २०७४ मा एमाले र २०७९ मा नेपाली काँग्रेसका उमेद्वारलाई सघाएको तत्कालीन नेकपा (माओवादी केन्द्र), एकिकृत समाजवादी लगायतका राजनीतिक दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा प्रतिनिधीसभा सदस्य निर्वाचनमा १२ वर्षपछि आफ्नै उमेद्वार बनाएको हो ।

एकै साथ भएका पछिल्लो दुई वटा प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा म्याग्दीमा एमाले र काँग्रेससँगै पालैपालो गठबन्धन गरेर सहयोग गरेको र लाभ लिएको नेकपाले आसन्न चुनावमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने साहास गरेको छ ।

वि.स. २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा माओवादीका गोविन्द पौडेलले २३ हजार भन्दा बढी मत ल्याएर बिजयी भएको म्याग्दीमा वि.स. २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा लोकेन्द्र बिष्टमगरलाई उमेद्वार बनाएपनि जित निकाल्न सकेन् ।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मा बिजयी हुदाँ काग्रेसका खमबहादुर गर्बुजा दोस्रो र तत्कालीन माओवादीका बिष्ट तेस्रो भएका थिए । यसपाली काँग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी.) र एमालेले दुई पटक जिल्ला कमिटिको अध्यक्ष, एक कार्यकाल प्रदेश सचिवालय सदस्य र हाल केन्द्रिय सदस्य रहेका हरिकृष्ण श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

विगतका चुनावमा एमाले काँग्रेस प्रतिस्पर्धी हुँदा जितहारमा निर्णायक भएको दावी गर्ने नेकपाका लागि विगतका सहयात्रीहरुसँग मात्र नभएर अन्तरिम सरकारको शिक्षा, विज्ञान, तथा प्रबिधीमन्त्रिबाट राजीनामा दिएर पुख्यौली थलो म्याग्दीमा स्वतन्त्र उमेद्वार बनेका महाबिर पुनको पनि सामना गर्नुपर्ने चुनौति छ । महाबिरलाई रास्वपाका उमेद्वार युवराज रोकाले सर्मथन गरेका छन् ।

नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा (माओवादी)ले दन्द्धकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पुर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रब) लाई उमेद्वार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बनेका छन् । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...