
‘म्याग्दीमा नेकपाका कार्यकर्ता उच्च मनोवलका साथ जनतासँग जाने अवस्था बनाएका छौ’
बेनी । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचन परिचालनका लागि म्याग्दीमा निर्वाचन परिचालनको जिम्मेवारी रेशमबहादुर जुग्जाली (सुविन)लाई दिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जाली गण्डकी प्रदेशको पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री हुनुहुन्छ । नेकपाको केन्द्रिय सदस्य रहेका जुग्जाली म्याग्दीमा विकासप्रेमी, हक्की, स्पष्ट बत्ता र केन्द्रिय राजनीतिमा पहुँच राख्न सक्ने पहिचान बनाएका नेताको रुपमा परिचित हुनुहुन्छ ।
जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले बेनी नगरपालिका, संयोजक शेरबहादुर केसीले अन्नपूर्ण, केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले रघुगंगा, गमबहादुर श्रीसले मंगला, लालु किसानले मालिका र टेकबहादुर बिकले धवलागिरी गाउँपालिकाको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी पाउनुभएको छ ।

पालिका, वडा र टोल स्तरमा कार्यकर्ता भेटघाटलाई तिब्रता बनाएको नेकपा म्याग्दीले माघ २० देखि फागुन १४ गतेसम्म मुल चुनाव प्रचार टोली परिचालन गर्ने तयारी गरेको जिल्ला सचिव कुशल पौडेलले जानकारी दिनुभयो ।

प्रेस सेन्टर नेपालले २२ औ स्थापना दिवसको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन परिचालन समितिका संयोजक जुग्जालीले चुनावी तयारी देखि आफूहरु प्रदेशसभामा निर्वाचित भएदेखि भएका विकासका कामका फेहरिस्त सार्वजनिक गर्नुभयो ।
“केन्द्रिय राजनीतिमा पार्टी नेतृत्व र जिल्लाको विकास निर्माणमा हामीले खेलेको भूमिकाका कारण म्याग्दीमा नेकपाका नेता कार्यकर्ताहरु उच्च मनोवलका साथ जनतासँग जाने अवस्था बनाएका छौ,” उहाँले भन्नुभयो “म्याग्दीमा देखिने र जनताले महशुस गर्ने गरि हामीले गरेका कामनै नेकपाको जितको आधार हो ।”

रु. २० करोड बजेटको उज्यालो म्याग्दी कार्यक्रम मार्फत १४ वटा बस्तिका दुई हजार घरपरिवारमा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार र ग्रामिण क्षेत्रका सडक स्तरोन्नतिका लागि १० वटा सडक तथा पुल निर्माण सम्बन्धी योजना भित्र्याएको जुग्जालीले बताउनुभयो ।
“गण्डकी प्रदेशसभामा म र हरि भण्डारीले म्याग्दी जिल्लाको आवाज र भावनाको प्रतिनिधित्व गरेका छौ,” उहाँले भन्नुभयो “म्याग्दीको लागि अझै धेरै काम गर्न बाँकी छ । त्यसका लागि टिम आवश्यक पर्छ । त्यसैले यसपाली म्याग्दीमा नेकपाका उमेद्वार अर्जुन थापालाई जिताउन अपिल गर्दछु ।”
अन्तरिम संसदमा गमबहादुर श्रीस, संविधानसभामा गोविन्द पौडेल, श्रीस, वि.स. २०७४ को प्रदेशसभा सदस्य बिनोद केसी, २०७९ मा निर्वाचित भएका हरि भण्डारी, जुग्जाली देखि पालिका र वडा तहका जनप्रतिनिधीले इमान्दारिताका साथ जनताको पक्षमा काम गरेकै कारण म्याग्दीमा नेकपाका नेता कार्यकर्ताहरुको मनोबल उच्च हुनुनै चितको आधार भएको जुग्जालीले बताउनुभयो ।
बेनी–दरवाङ–ढोरपाटन सडक, बेनी–पाखापानी सडक योजना, बेनी नगरपालिका–४ सिंगा तातोपानीको नदी नियन्त्रण योजनाको नेकपा संयोजक प्रचण्ड नेतृत्वको सरकार र आफुले भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेका समयमा भएकाले त्यसको स्वामित्व आफूहरुले लिने बताउनुभयो ।
जुग्जालीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेका समयमा भएका काममा दावी गर्ने तत्कालीन सत्ता साझेदार र अघिल्लो चुनावको गठबन्धनको सहयात्री नेपाली काँग्रेसका नेताहरुले अब नयाँ योजना भित्र्याएमा त्यसको खुलेर साथ दिने र प्रशंसा गर्ने भन्दै चुनौति दिनुभयो ।
कोरला नाका खुलाउने, बेनी–जोमसोम सडक, बेनी–दरवाङ सडकका लागि बहुबर्षीय योजनामा बजेट बिनियोजन गरेर सुरुवात गराउने काम नेकपा संयोजक प्रचण्ड प्रधानमन्त्री भएका समयमा भएको जुग्जालीले बताउनुभयो ।
सडक पूर्वाधारलाई आधार मानेर आर्थिक र सामाजिक क्षेत्रको सुधार, रोजगारी सिर्जना, पर्यटन प्रर्वद्धन गरि म्याग्दीलाई सम्बृद्ध र विकसित बनाउने भिजन आफूहरुको रहेको बताउनुभयो । कालीगण्डकी, म्याग्दी र राहुघाट कोरिडोरको सन्तुलित विकासको मुद्दालाई अघि सारेको नेकपाले बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ –दरवाङ–बेनी चक्रपथ सडकको अवधारणालाई अघि सारेको जुग्जालीले बताउनुभयो ।

