
बेनी, । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले चुनाव गराउने म्याडेड पाएको अन्तरिम सरकारका मन्त्रिहरु धमाधम राजिनामा दिएर चुनाव लड्न आउनु रहस्यको विषय भएको बताउनुभएको छ ।
नेकपा एमाले, म्याग्दीको बुधबार बेनीमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै अन्तिरिम सरकारको शिक्षा, विज्ञान तथा प्रबिधीमन्त्रीको पदबाट राजिनामा दिएर म्याग्दीमा आएर प्रतिनिधीसभा सदस्यको उमेद्वार बनेका महाबिर पुनलाई लक्षित गर्दै ‘टुरिष्ट’को पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
मूल निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै अधिकारीले उहाँले निर्वाचन सामान्य नभई देश बचाउने र राष्ट्रियता जोगाउने अभियान भएको बताउनुभयो । ‘आसन्न निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा देशमा विध्वंश मच्चाउनेहरुको बीच प्रतिस्पर्धा हो,’ उहाँले भन्नुभयो ‘चुनाव गराउने मात्र अधिकार पाएको अन्तिरिम सरकारका मन्त्रीहरु धमाधम राजिनामा दिएर चुनावमा आउनु रहस्यको विषय हो ।’
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले सचिव अधिकारीले वर्तमान सरकार संविधान र संसदभन्दा बाहिरबाट बनेको र प्रधानमन्त्री बन्न नमिल्ने मान्छे प्रधानमन्त्री बनेकाले आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्नेमा आशङ्का रहेको टिप्पणी गर्नुभयो ।
उहाँले गत भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको आन्दोलनबाट बनेको सरकारमा सहभागी मन्त्रीहरु आसन्न निर्वाचन सम्पन्न गराउनुको सट्टा एकाएक राजिनामा दिएर निर्वाचन लड्न आएको बताउँदै आगामी निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा संविधानको रक्षाका निम्ती रहेको बताउनुभएको छ ।
‘यस पटकको चुनाव कुनकुन पात्रले जित्ने र हार्ने भन्ने विषयमा भैरहेको छैन । खासमा राष्ट्रियता जोगाउने कि जेलेन्सकी जन्माउने र युक्रेन बनाउने भन्ने बीचको हो,’ अधिकारीले भन्नुभयो ‘अन्तर्राष्ट्रिय शक्ति केन्द्र बलियो हुँदा देशको सिमाना पश्चिममा काँकडा र पूर्वमा टिष्टासम्म पु¥याउने वीरहरु अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाहरु सेरिएको देशमा राष्ट्रवादी अडान राख्दा एमाले नेतृत्वमाथि चौतर्फी प्रहार भैरहेको छ ।’
उहाँले विगतमा जनताको विश्वास टिकाउन नसकेका त्रुटीहरुमा पार्टीको तर्फदेखि क्षमायाचना र आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धतासहित राष्ट्रिय स्वाभिमान तथा आर्थिक जागरणका लागि एमाले निर्वाचनमा होमिएको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज थममाया थापाले आगामी फागुन २१ गतेको निर्वाचन एमालेको पक्षमा पार्ने गरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले वि.सं. २०४८ सालदेखि हालसम्म भएका निर्वाचनहरुमा एमालेको मत म्याग्दीमा एउटै दरमा प्राप्त भैरहेको बताउँदै अहिलेको निर्वाचन पनि एमालेले जित्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेकी अर्की केन्द्रीय सदस्य नरदेवी पुनले एमाले सरकारमा हुँदा देश र जनताको पक्षमा गरेका राम्रा कामहरुको बारेमा बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनका उम्मेदवार हरिकृष्ण श्रेष्ठले निर्वाचनमा आफू केबल उम्मेदवारको प्रतिनिधि मात्रै भएको बताउँदै पार्टी केन्द्रीय घोषणापत्र नै निर्वाचनको अभियान हुने बताउनुभयो ।


एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले आसन्न निर्वाचनमा उठेका राजनीतिक दलका उम्मेदवारहरुसँग स्वतन्त्र उम्मेदवारको तुलना हुन नसक्ने भन्दै निर्वाचन एमालेले जित्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न विस्तारिक वैठकले आसन्न निर्वाचनलक्षित विभिन्न रणनीति र योजनाहरु बनाएको छ । विस्तारित वैठकमा एमालेका निवर्तमान केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्य सुरत केसी, खरमाया बिटालुलगायत प्रदेश तथा जिल्लाका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

