
बेनी, म्याग्दीको सदरमुकाम बेनीका एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
बेनी नगरपालिका–७ का स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाखको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष स्थापना गर्नुभयो ।
सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, हृदयकुमार–पद्यामा श्रेष्ठ, सुनितादेवी–रामलाल श्रेष्ठ, धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ र विनय–कल्पना श्रेष्ठले स्थापना गर्नुभएको कोषबाट हरेक वर्ष म्याग्दीको सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ ।


यस वर्ष म्याग्दी जिल्लाको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका शिक्षाप्रेमी समाजसेवी गोपालनारायण भट्टचन, भिमप्रसाद गौचन र शिवनारायण फगामीलाई अनिनन्दन गरिने मंगलबार श्रेष्ठ परिवारले घोषणा गर्नुभएको छ ।
बेनीको प्रकाश माविका जग्गादाता, बेनी सामुदायिक माविको संस्थापक ब्यवस्थापन समिति अध्यक्ष, रुममा लालीगुराँस खेलकुद विकास समिति गठन, साथै विभिन्न सामाजिक र संस्कृति संरक्षणको क्षेत्रमा योगदान गर्नुभएका स्व. लक्ष्मीप्रसाद र पुतलीदेवीको सामाजिक क्षेत्रमा काम गर्ने भावनाबाट प्रभावित भएर उहाँहरुको स्मृतिमा अक्षयकोष स्थापना गरेको जेठा छोरा सञ्जय श्रेष्ठले बताउनुभयो ।
पुतलीदेवीको वि.स. २०५९ पुष १८ र लक्ष्मीप्रसादको वि.स. २०६५ पुष २९ गते निधन भएको थियो ।

