
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयबासीहरुले सरकारी निकायको सहयोगबिनै ‘भ्यु पोइन्ट’ दृष्य अवलोकन केन्द्र निर्माण गरेका छन् ।
भुवानी युवा परिवारले दिवंगत संस्थापक सदस्य स्व. कृष्णप्रसाद खड्काको स्मृतिमा दृष्य अवलोकन स्थल निर्माण गरेका हुन् । श्रमदान बाहेक करिब रु. दुई लाख सहयोग जुटाएर देउराली डाडाँ पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले बताउनुभयो ।
“देउरालीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि संस्थाका संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौ,” उहाँले भन्नुभयो “पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृष्य अवलोकन गर्ने ब्यवस्था मिलाएपछि पर्यटकलाई सहजका साथै सुरक्षित भएको छ ।”



भवानी युवा परिवारले रु. एक लाख २० हजार सहित रु. एक लाख ८५ हजार पाँच सय सहयोग जुटेको थियो । पाँच जनाले श्रमदानमा सहभागीहरुलाई करिब रु. १३ हजार बराबरको खाजा खुवाएका थिए । ३५ जनाले सरदर दुई दिनका दरले श्रमदान गरेका थिए । सबैभन्दा बढी नौ दिन श्रमदान गर्नुभएका खड्काले थप रु. तीन हजार बराबरको गिट्टी र बालुवा सहयोग गर्नुभएको छ ।
समुन्द्रि सतहदेखि एक हजार सात सय ८४ मिटर उचाईमा रहेको देउरालीबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, ग्रामिण बस्ति, नागबेली परेर बगेको कालीगण्डकी नदीको दृष्य अवलोकन गर्न सकिन्छ ।
घार, शिख, पाउद्धार, भुरुङ–तातोपानी, दाना, नारच्याङ गाउँ अवलोकन गर्न सकिने देउराली शान्त र एकान्त छ । पोखरेबगर–चित्रे–घोडेपानीको भुवाने देखि १० मिटर पैदलयात्रा गरेपछि देउराली पुगिन्छ । त्यहाँ पुग्ने कच्चि सडक पनि छ ।
पोखरेबगर–चित्रे सडक विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोडिन्छ । घोडेपानी घुम्न जान आउने पर्यटकहरुको बसाई लम्बाउन र स्थानीय आर्थिक गतिबिधीलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन पहल गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

