म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

Gandaki Ghumau

बेनी ः म्याग्दीको प्रमुख नगदे फलफुल बाली सुन्तलाको यस वर्ष उत्पादन घटेको छ ।

सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढेपनि उत्पादकत्वमा कमी आएको हो । कृषि विकास कार्यालय, म्याग्दीका अनुसार गत वर्षको तुलनामा प्रतिहेक्टर शून्य दशमलब ७५ मेट्रिक्टन अथवा जिल्लाभर समग्रमा पाँच दशमलब ५६ प्रतिशतले उत्पादन घटेको अनुमान गरेको छ ।

यस वर्ष रोगकिरा र प्राकृतिक विपद्ले असर नगरेपनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । “मौसमले साथ दिएको, रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरेपनि यसपाली दाना कम लागेको छ,” उहाँले भन्नुभयो “एक वर्ष अत्याधिक फल्ने र अर्को बर्ष अली कम दाना लाग्ने सुन्तला खेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।”

Shreekrishna

गत वर्ष चार सय २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलब २५ मेट्रिक्टनका दरले चार हजार सात सय ८१ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष चार सय ३० हेक्टर क्षेत्रफलमा १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार पाँच सय १५ मेट्रिक्टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालयको अनुमान छ ।

Gunasthariya Shiksya

किसानहरुको बगैचाको नमुना अध्ययनका आधारमा प्रारम्भिक आँकडा निकालिएपनि सबै बगैचाको सुन्तला बिक्री भइसकेपछि वास्तविक तथ्याङ्कन संकलन गरिने कार्यालय प्रमुख बास्तोलाले बताउनुभयो । यस वर्ष सरदर रु. ६५ देखि ७० का दरले सुन्तला बिक्री भएको थियो ।

यस वर्ष सरदर प्रतिकिलो रु. ७० देखि ७५ का दरले सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा प्रतिकिलो रु. पाँच बढी मूल्य पाएको किसानहरुले बताएका छन् । म्याग्दीमा यस वर्ष उत्पादन हुने अनुमान गरिएको सुन्तलाको सरदर बिक्री मूल्य अनुसार रु. ३१ करोढ ६० लाख ५० हजार अनुमान गरिएको छ ।

म्याग्दीको आठ सय ३० हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती भएको तथ्याङ्क छ । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लीन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैचामै आउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैचा ब्यवस्थापन, साना सिचाई र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...