
बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयबासीले रु. एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा सहयोग गरेका छन् ।
चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीय स्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निशूल्क प्राप्त भएको हो ।
अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा निशूल्क उपलब्ध गराउनुभएको जानकारी दिनुभयो ।


“साविक हिस्तान गाविसको साविक पाँच वटै टोलको भेला बाट सहमति जुटाई तीन वर्षअघि जग्गाधनीहरुले वडा कार्यालयका लागि निशूल्क जग्गा उपलब्ध गराउने वातावरण बनाएपनि जग्गा प्राप्ति प्रक्रीयामै करिब चार बर्ष लाग्यो,” उहाँले भन्नुभयो “गाउँपालिकाले रु. एक करोड ३९ लाख लागत अनुमानको हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आव्हान गरेको छ ।”
दुई तले भवनमा दश वटा कोठा हुनेछन् । वडा कार्यालय भवनसँगै खेलकुदका लागि कवर्डहल पनि बनाउने वडा कार्यालयको योजना रहेको छ । स्थानीयबासीले उपलब्ध गराएको जग्गाको स्थानीय चलनचल्तीको मूल्य रु. एक करोड भन्दा बढी रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
अघिल्लो कार्यकालमा गाउँसभाले महभिरमा वडा केन्द्र कायम गर्ने निर्णय गरेको थियो । साविक हिस्तान गाविसको केन्द्र टिकोटमा थियो । संघीयतापछि पहिलो कार्यकालको सुरुदेखिनै हिस्तानको वडा कार्यालय महभिरमा भाडाको घरमा सञ्चालन हुदै आएको छ ।

