
बिम, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् ।
२० बर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैचामा परिणत भएको बताउनुभयो ।
“कोदो, मकै खेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो,” उहाँले भन्नुभयो “केरा र सुन्तला खेती गरेपछि आम्दानी हुन थाल्यो । घर ब्यवहार चलाउने र छोराछोरीको पढाईखर्च जुटाउन खाडी मुलुक जानु परेको छैन् ।”


यस वर्ष करिब रु. पाँच लाख मूल्य बराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप रु. एक लाख आम्दानी हुने बताउनुभयो । उहाँले तीन वर्ष खाडी मुलुक साउदीमा भेडा चराएर वि.स. २०५७ मा घर फर्किएपछि सुन्तला र केरा खेती सुरु गर्नुभएको थियो । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैचा छ ।
भित्रलालसँगै उहाँका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तला खेती गर्नुभएको छ । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तला खेती भित्र्याउनुभएको थियो ।
हाल मालिका गाउँपालिका–७ मा पर्ने साविक बिम गाबिसबाट वार्षिक रु. एक करोड भन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भुपेन्द्र शर्माले बताउनुभयो । पोखरा र चितवनका ब्यापारीले बगैचाबाटै प्रतिकिलो रु. ७० का दरले सुन्तला खरिद गरेर लगेका छन् । नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ ।


अर्कला, नराले, ओखलढुङ्गा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तला खेती भएको छ । सुन्तला बेचेर एक जना कृषकले रु. ६० हजार देखि रु. पाँच लाख सम्म आम्दानी गरेका छन् । ६० भन्दा बढी घरपरिवारले व्यवसायिक सुन्तला खेती गरेका अगुवा किसान भविराज पुनले बताउनुभयो ।
“सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले सुन्तला खेती फस्टाएको छ,” उहाँले भन्नुभयो “कोदो, मकै, गहुँ लगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ ।”
पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तला खेतीलाई आम्दानीको माध्यम बनाउनुभएको छ ।
“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैचा बगाएको थिए,” उहाँले भन्नुभयो “त्यतीबेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो ।

विदेश जानु परेको छैन् । सुन्तला खेती पेन्सन जस्तो भएको छ ।” उहाँले वार्षिक रु. चार लाखको सुन्तला बिक्री गर्नुहुुन्छ । व्यवस्थित सिचाई सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् ।

