
बेनी । म्याग्दीका होटल, रेष्टुरेन्ट, चमेनागृह र होमस्टे ब्यवसायीहरुलाई खाद्य सुरक्षा सम्बन्धी तालिम दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा शनिबार बेनीमा सम्पन्न तालिममा ८० जना ब्यवसायीहरुको सहभागिता थियो । म्याग्दी उद्योग वाणिज्य संघ र म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ र खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले खाद्य सुरक्षा सम्बन्धी नीतिगत ब्यवस्था र खाद्य सुरक्षा तथा स्वच्छताका मापदण्ड लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

गुणस्तरीय र स्वच्छ खाद्यान्न उपभोग गर्न पाउने उपभोक्ताको अधिकारका लागि तालिमले सहयोग पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । २०२३ सालको पुरानो खाद्य सुरक्षा ऐन संसोधन भएर २०८१ मा नयाँ ऐन जारी भएको छ ।
नयाँ ऐनमा भएका ब्यवस्थाको विषयमा पनि ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । नीतिगत ब्यवस्थाका विषयमा ब्यवसायीलाई जानकारी गराएर कानुनी कारबाही भोग्नुपर्ने अवस्था आउन नदिन र उपभोक्ता अधिकारप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

