
बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएको छ ।
चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर समुन्द्रि सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङधुरीमा आश्रयस्थल निर्माण गर्नुभएको हो ।
सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनाहरुलाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि निर्माण गरिएको २० जना क्षमताको आश्रयस्थलमा रेष्टुरेष्ट सञ्चालन गर्ने योजना रहेको गर्बुजाले बताउनुभयो ।

“तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दिर्घकालिन रुपमा रेष्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ,” गर्बुजाले भन्नुभयो “सोवाङ धुरीबाट प्यारागल्याङीको पनि परिक्षणको तयारीमा छौ ।”
म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो ।
सुर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृग लगायत जनावर र पाँच औले, सेदक चिनी लगायत जडिवुटीहरु अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले दुई वर्षअघि चिमखोला देखि पात्लेखेत– जसलाङ– सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।
सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोला देखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासीहरु बर्खा याममा गाईभैसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।
नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोला घर भई हाल पोखरामा बसोबास गर्नुहुने तारा गर्बुजा पुन र उहाँका भाई गोपिन पुनले सोवाङ धुरी देखि दुई सय मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै पाँच÷पाँच सय लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको छ । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् ।
हिउँ पग्लीएर र आकाशको पानी ड्रममा संकलन हुने ब्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालाहरुलाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो ।
होटल र रेष्टुरेष्ट नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ । टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।
यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

