धवलागिरीबासीको गुनासो ः– ‘हरियाली वनपाखा र हराभरा बगैचा धुलाम्मे भए’

Gandaki Ghumau

सन्तोष गौतम
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण स्थलमा उड्ने धुलोले वायु प्रदुषण भएको छ ।

निर्माण स्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालबाहक सवारी साधनले उडाउने धुलोका कारण सडकमा हिडडुल, घाँसदाउरा गर्न समस्या र गाईबस्तुको चरन तथा आहारा घाँसपात नष्ट भएको हो । मुदी, खिवाङ, बगर, खाम्ला, बास्बोट, सोलवाङ, दर, फलीयागाउँ, खोरवाङ, कौछीनी, बाँसबोट, नाउराका बासिन्दा धुलोले आजित भएका हुन् ।

धवलागिरी गाउँपालिका–४ छहरी देखि खारा हुदै खाम्ला र वडा नं. ३ दर देखि सिमबाङ हुदै मुदी जोड्ने सडकमा धुलोले वायुप्रदुषण बनाएको स्थानीयबासीले गुनासो गरेका छन् । मुना–दर–मुदी सडकको सिम्वाङ क्षेत्रमा दरखोला जलविद्युत आयोजनाको पाइपलाइन निर्माणका लागि डोजर परिचालन गरेर सडकको भित्ता काट्ने काम भैरहेको छ ।

Shreekrishna

छहरी–खारा–खाम्ला खण्डको सडकमा अपर म्याग्दी, अपर म्याग्दी–१, म्याग्दीखोला लगायत जलविद्युत आयोजनाका निर्माण सामग्री र उपकरण बोकेका ट्रक, टिप्पर लगायत मालवाहक सवारी साधन ओहोरदोहोर गर्छन् ।

धवलागिरी गाउँपालिका–४ खिवाङका बासिन्दा लीलबहादुर घर्तीले सडकको धुलोले खेतीबाली र मानिसको स्वास्थ्यमा असर पारेको गुनासो गर्नुभयो । “विकासका आयोजना भित्रिएकोमा खुसी भएका हामी हरियाली वनपाखा र हराभरा बगैचा धुलाम्मे हुँदा दुखि छौ,” उहाँले भन्नुभयो “विकास होस तर विपद् र वातावरण विनास नहोस भन्ने हाम्रो अपेक्षा हो ।”

खाराका ज्ञानबहादुर पुनले गाईबस्तुलाइृ खुवाउने घाँस, फलफुल र तरकारीको पातैभरी धुलो थुप्रिएर उपभोग गर्न नसकिने भएको बताउनुभयो । “बगैचा, खेतबारी र घाँसदाउराका लागि घर बाहिर गएर आउँदा शरिर भरि धुलै धुलो भएर नुहाउनुपर्छ,” उहाँले भन्नुभयो “सुकाएको कपडामा पनि धुलो टाँसीएर फोहोर हुन्छ । पानीको स्रोत पनि धुलोले दुषित बनाएको छ । खकार र सिगानमा पनि धुलो मिसिएको आउन थालेको छ ।”

खाम्लाका बासिन्दा केशरमान पुनले गाडीभित्र सिसा थुन्दा उकुशमुश हुने र झ्याल खोले सबै भित्र पसेर धुलाम्मे भइने बताउनुभयो । “मोटरसाइकल र गाडीको पछाडी बसेर यात्रा गर्नेको धुलोले अनुहार पनि चिनिनिने अवस्था हुन्छ,” उहाँले भन्नुभयो “जलविद्युत आयोजनाहरुले धुलो मार्नका लागि सडकमा पानी नहालेका कारण वायुप्रदुषण बढेको हो ।”

Gunasthariya Shiksya

जलविद्युत आयोजनाहरुको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेख भएको धुलो र प्रदुषण नियन्त्रण गर्ने प्रतिवद्धता कार्यान्वयन नगरेकाले सचेत बनाएको धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । कात्तिक दोस्रो सातादेखि आकाशबाट बर्षा नभएकाले मौसम सुख्खा छ ।

अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधिन विद्युतगृह देखि छहरी स्थित अडिट सम्म हरेक दिन बिहान र बेलुकी ट्याङ्करबाट सडकमा पानी हालेर धुलो मार्दै आएको छ । खाम्ला देखि बाँध निर्माण स्थलसम्म पनि ट्याङ्करले सडकमा पानी हालेको छ ।

अपर म्याग्दी जलविद्युत आयोजनाले घिम्लेटीमा निर्माणाधिन विद्युतगृहदेखि नाउरा हुदै चेचुङको फेदीमा रहेको अडिट सम्मको सडकमा पानी हालेर धुलो मारेको छ । नाउरा देखि अपर म्याग्दीको बाँध र बगरदेखि माथिको सडकमा पनी धुलो मार्नका लागि सम्बद्ध आयोजनाहरुलाई सचेत बनाएको धवलागिरी गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।

अपर म्याग्दी–१ जलविद्युत आयोजनाका प्रमुख ज्योतीकुमार केसीले छहरी–खारा–खाम्ला सडक स्तरोन्नतिको जिम्मा लिएको सहायक ठेकेदारले समयमा काम नगरिदिदाँ धुलो नियन्त्रण गर्न नपाएको बताउनुभयो ।

“हाम्रो सिभिल ठेकेदार लुना विल्डर्स मार्फत जिम्मा लिएका स्थानीय सवकन्ट्रक्टरले सडकमा नाली, पर्खाल बनाउन र सोलिङ गर्न ढिलाई गर्नुभएको छ,” उहाँले भन्नुभयो “सब कन्ट्रयाक्टरले छिटो काम सकिदियो भने धुलो नियन्त्रण र थप काम लगाउन हामीलाई सजिलो हुने थियो ।”

लुना विल्डर्सको सहायक ठेकेदार चोचाङ्गी पुन कन्ट्रक्सनका सञ्चालक समेत रहेका मुदीका बासिन्दा दलमान पुनले आफ्नो जिम्मेवारी सडकको संरचना बनाउने भएको र धुलो मार्ने काम आयोजनाकै भएको तर्क गर्नुभयो ।

“नाउरा देखि खाम्ला–कल्लेनी क्षेत्रमा ग्याबिन, नाली, मेसिनरी पर्खाल र सोलिङको काम गर्ने मात्रै मेरो जिम्मेवारी हो,” उहाँले भन्नुभयो “धुलोका कारण मजदुरहरुलाई काम गराउन मलाई पनि समस्या भएको छ ।”

अपर म्याग्दी जलविद्युत आयोजनाका प्रमुख रमेश सुवेदीले आफ्नो आयोजना क्षेत्रमा धुलो नियन्त्रण गरेको र नाउरा देखि बगर जोड्ने सडकमा म्याग्दीखोला जलविद्युत आयोजनासँग साझेदारी गरेर प्रदुषण नियन्त्रणको काम गरिने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...