
बेनी, । बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा शुक्रबार अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
गलेश्वर माविको युवा रेडक्रस सर्कलले ‘विद्यालय शिक्षामा एआइ र यसको भविष्य’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका हुन् । १३ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा म्याग्दी एकेडेमी सिंगाकी शिखा के.सी. प्रथम, प्रकाश मावि बेनीका सदिक्षा सुवेदी दोस्रो, लिटिल गार्डेन एकेडेमी बेनीका दिक्षा पौडेल तृतीय र शिव मावि फर्सेका अनुराग सुवेदी सान्तवना हुनुभएको छ ।

प्रथम, दोस्रो, तेस्रो र सान्तवनालाई प्रमाणपत्रको साथमा नगद पुरस्कार क्रमश रु. पाँच हजार, तीन हजार, दुई हजार र एक हजार उपलब्ध गराइएको छ । गलेश्वर माविको युरेसका सभापति स्नेहा गर्बुजाको अध्यक्षता, स्वस्तिका पौडेल र अनुष्मा चोखालको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानिया रहनुभएको थियो ।

कक्षा ९ का विद्यार्थी सुकृति पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष चक्र केसी र विद्यालयका प्रअ तथा युरेसका संरक्षक गणेश बहादुर बानियाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । निर्णायक मण्डलका संयोजक शिक्षक मुकुन्द रेग्मीले पृष्ठपोषण सहित नतिजा सार्वजनिक गर्नुभएको थियो ।

